युक्रेन र अमेरिकाले सयुक्त समझदारी पत्रमा हस्ताक्षर गरे, युक्रेनमा हुने थप क्षति रोकिने अपेक्षा


प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

युक्रेन र अमेरिकाले सयुक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन । युक्रेन र अमेरिकाले युक्रेनको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारी पत्रमा हस्ताक्षर गरेको युक्रेनले बताएको छ ।

युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाको अमेरिकी समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताइन ।

युक्रेन र अमेरिकाले केही हप्ताअघि युक्रेनको खनिज उत्खनन् गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए । तर गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबिच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो ।

ट्रम्पल पुर्व अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिको रूपमा युक्रेनी स्रोत साधनको उत्खननबाट हुने नाफामा अमेरिकी रोयल्टी भुक्तानी चाहेको बताइएको छ ।

युलिया स्विरिडेन्कोले समझदारी पत्रको विवरण प्रकाशित नगरी अन्तिम सम्झौता कायम र सुरक्षित गर्न निरन्तर काम जारी रहेको बताए ।

“युक्रेनको पुनर्निर्माण, पूर्वाधार विकास व्यापार सहयोग र आर्थिक अवसरका लागि लगानी आकर्षित गर्न यो कोष प्रभावकारी माध्यम बन्ने आशा छ” उनले भनेका छन ।

अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापारलाई बढावा दिनाले युद्धविराम कायम गरी रुसलाई भविष्यको आक्रमणबाट रोक्न मद्दत गर्ने बताएका छन् ।

युक्रेनले निरन्तर रुपमा चलिरहेको युद्ध रोक्नका लागि सम्झौता तथा सैन्य सुरक्षा ग्यारेन्टीको लागि दबाब दिइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com