ट्रम्प प्रशासनका मागलाई अस्वीकार गरेको हावर्ड विश्वविद्यालयलाई सहयोग गर्ने दाता बढ्दै


प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

ट्रम्प प्रशासनका मागहरुलाई अस्वीकार गरेपछि अमेरिकाको हावर्ड विश्वविद्यालयलाई चन्दा दिनेहरुको संख्या बढेको छ ।

हावर्ड विश्वविद्यालयलाई प्रमुख गार्बरले सरकारी चेतावनीको विरोध गरेपछि विश्वविद्यालयलाई दाताहरूबाट व्यापक समर्थन र लाखौँको चन्दा संकलन भएको हो ।

हावर्ड विश्वविद्यालयका प्रमुख गार्बरले ट्रम्प प्रशासनका मागहरू अस्वीकार गरेपछि विश्वविद्यालयले अनलाइन चन्दाहरूमा एक्कासि वृद्धि अनुभव गरिएको बताएको छ ।

प्रमुख गार्बरले सम्पूर्ण विश्वविद्यालय समुदायलाई पठाएको इमेलमा संघीय सरकारका मागहरूको जवाफ दिएका थिए ।

यदि विश्वविद्यालयले नेतृत्व संरचना, भर्ना प्रक्रिया र स्टाफ नियुक्तिमा परिवर्तन नगरेमा हावर्डको करिब ९ बिलियन डलर बराबरको अनुदान र सहयोग कटौती गर्ने ट्रम्प प्रशासनले चेतावनी दिएको थियो ।

गार्बरले यी मागहरू संविधानको पहिलो संशोधन अन्तर्गतको अधिकारको उल्लंघन हुन् र सरकारको सूचि ६ अन्तर्गतको कानुनी अधिकारभन्दा बाहिर रहेको भन्दै स्वीकार गर्न नसकिने भन्दै जवाफ दिएका थिए ।

यसले ज्ञानको खोज, उत्पादन र प्रचारमा समर्पित एक निजी संस्था भएको नाताले हाम्रा मूल्यहरूलाई चुनौती दिन्छ उनले जवाफमा लेखेका छन ।

निजी विश्वविद्यालयलाई के पढाउने, कसलाई भर्ना वा नियुक्ति गर्ने र कुन विषयमा अनुसन्धान गर्ने भनेर कुनै पनि सरकार र पार्टीले निर्देशन दिनु हुँदैन भनेर जवाफमा गार्बरले लेखेका छन ।

गार्बरको पत्र सार्वजनिक भएपछि अमेरिकी शिक्षा मन्त्रालयले हावर्डका लागि तय गरिएका २ बिलियन डलर भन्दा बढी बराबरका बहुवर्षीय अनुदान र ६० मिलियन डलर बराबरको सम्झौता रकम तत्काल स्थगित गर्ने घोषणा गरेको थियो ।

तर, गार्बरको पत्र पठाइएपछि हावर्डले करिब ४ हजार अनलाइन चन्दा प्राप्त गरेको छ । जसको कुल रकम १ मिलियन डलर भन्दा बढी रहेको छ ।

उक्त रकममध्ये ४७ प्रतिशत हावर्ड कलेज फन्डमा पुगेको छ । १४ प्रतिशत प्रमुख गार्बरको विवेकाधिकार कोषमा गएको छ । करिब ८० प्रतिशत चन्दा २५० डलर भन्दा कम रकमका रहेका थिए ।

गार्बरको पत्र पठाउने अघिल्लो दिन हावर्डले जम्मा ३७ वटा चन्दा प्राप्त गरेको थियो ।

तर बुधबारदेखि हावर्डले प्रति घण्टा औसत ८८ वटा अनलाइन चन्दा प्राप्त गर्दै आएको छ । गत वर्ष हावर्डले उल्लेखनीय दाता गुमाएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com