अमेरिकामा भएको विमान दुर्घटनामा ३ जनाले ज्यान गुमाए
प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

अमेरिकामा भएको विमान दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पूर्वी नेब्रास्कामा सानो विमान नदीमा खस्दा तीन जनाको मृत्यु भएको हो ।
शुक्रबार राति पूर्वी नेब्रास्काको एक नदीमा सानो विमान खसेको थियो । यो घटनामा विमानमा सवार तीनै जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।
विमान प्लाट नदीको किनारैकिनार यात्रा गरिरहेको बेला राति ८ बजेपछि फ्रेमन्ट सहरको दक्षिणतर्फ पानीमा खसेको थियो ।
फ्रेमन्ट ओमाहाबाट करिब ४० माइल उत्तरपश्चिममा पर्छ । डज काउन्टी शेरिफ अफिसकी सर्जेन्ट ब्री फ्र्याङ्कले पत्रकार सम्मेलनमा यो घटनाको बारेमा जानकारी दिएकी हुन ।
सर्जेन्ट फ्र्याङ्कका अनुसार उद्धारमा संलग्न विभिन्न निकायहरूको सहयोगमा सबै तीन शवहरू घटनास्थलबाट निकालिएको थियो ।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड का अनुसार दुर्घटनाग्रस्त विमान सिसना १८० मोडेलको थियो । घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन ।
बोर्डका अनुसार अनुसन्धान अधिकृतले दुर्घटना स्थलको अवलोकन तथा विमानको प्रारम्भिक जाँच गरेपछि, विमानलाई थप मूल्याङ्कनको लागि सुरक्षित स्थानमा लैजानेछ ।
संघीय उड्डयन प्रशासन ले पनि उक्त दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।
शनिबार बिहान स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्वीरहरूमा विमानका केही भागहरू पानीमा देखिएका थिए ।
पछिल्ला दिनमा अमेरिकाका फ्लोरिडा, मिनेसोटा, न्यूयोर्क र पेन्सिल्भेनियामा भएका साना विमान दुर्घटनाहरू भइरहेका छन ।