अमेरिका र इरानबीच दोस्रो चरणको आणविक वार्ता सकियो, अर्को वार्ता मस्कोमा गर्ने तयारी
प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

अमेरिका र इरानबीच दोस्रो चरणको आणविक वार्ता इटालीको रोममा सकिएको छ । दुबै देशको यो वार्ताको मध्यस्तता ओमानले गरेको छ । पहिलो चरणको वार्ता दुई देशले ओमानमा गरेका थिए ।
वार्ताको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफले गरेका छन । वार्ता सकारात्मक र फलदायी भएको दुबै देशका अधिकारीहरुले बताएका छन । अमेरिकाले वार्तालाई प्रत्यक्ष भनेको छ भने इरानले यो वार्तालाई अप्रत्यक्ष भनिरहेको छ ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आणविक सम्झौता त्यागेपछि यी दुई देशबीच उच्चस्तरमा भएको पहिलो छलफल हो ।
अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारहरू प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् ।
उक्त आरोपलाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ । आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक उद्देश्यका लागि हो भनेर इरानले जोड दिँदै आएको छ ।
इरानको सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध टुटेको छ । जनवरीमा आफ्नो कार्यालयमा फर्केपछि ट्रम्पले इरानविरुद्ध प्रतिबन्धहरूको आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनर्जीवित गरेका छन ।
मार्चमा उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई नयाँ आणविक वार्ता गर्न आग्रह गर्दै पत्र पठाएका थिए ।
शुक्रबार अराघचीले इरानले पहिलो चरणमा अमेरिकी पक्षमा ‘केही हदसम्म गम्भीरता’ देखेको तर उनीहरूको ‘अभिप्राय र अभिप्रेरणाहरू’ मा प्रश्न उठाएको बताए ।
मध्यस्थकर्ता ओमानका नेता सुल्तान हैथम बिन तारिकले आउँदो वार्ता मस्कोमा हुनसक्ने बताएका छन ।
सुल्तानले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा वर्तमान प्रश्नहरू’ र अन्य मुद्दाहरूबारे छलफल गर्ने बताएको छ । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को सम्झौता त्यागेको थियो ।
सम्झौताले इरानलाई उसको आणविक कार्यक्रममा प्रतिबन्धहरूको बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट राहत दिने प्रस्ताव गरेको थियो ।
इरानले हाल ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्दछ ।