रुसी राष्ट्रपति पुटिनको इस्टर युद्धविरामका बाबजुद रोकिएन युक्रेनमाथि आक्रमण
प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गरेपनि पनि रुसी सेनाले फ्रन्ट लाइनमा आफ्नो गोलाबारी र आक्रमणहरू जारी राखेको बताएका छन् ।
तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।
तर, आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाए ।
युक्रेनी सेनाध्यक्ष ओलेक्सान्डर सिरस्कीको बिहान ६ः०० (०३०० जिएमटी) को रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले सामाजिक सञ्जालमा भने, “विभिन्न फ्रन्टलाइन दिशामा रूसी गोलाबारीका ५९ वटा घटना र रूसी युनिटहरूद्वारा पाँच आक्रमण भइसकेका छन् ।”
शनिबार मध्यरात (२१०० जिएमटी) सम्मको छ घण्टामा ‘रूसी सेनाले गोलाबारी गरेको तीन सय ८७ वटा घटना र १९ वटा आक्रमण’ भएको र ‘रूसीहरूले दुई सय ९० पटक ड्रोन प्रयोग गरेको’ उनले बताए ।
“समग्रमा इस्टर बिहानसम्म हामी भन्न सक्छौँ कि रुसी सेनाले युद्धविरामको सामान्य छाप सिर्जना गर्न प्रयास गरिरहेको छ, जबकि केही क्षेत्रमा अझै पनि अघि बढ्ने र युक्रेनलाई क्षति पुर्याउने एकल प्रयासहरू जारी राखेको छ”, जेलेन्स्कीको पोस्टमा भनिएको छ ।
इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।
शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्की समेत दिएको थियो ।