अमेरिकाले निस्कासन गरेका २५२ जनालाई भेनेजुएला पठाउन एल साल्भाडोरको प्रस्ताव


प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले आफ्नो देशमा अमेरिकाबाट निर्वासित गरी थुनिएका २५२ जना भेनेजुएलाली नागरिकलाई स्वदेश फिर्ता गर्न तयार रहेको बताएका छन ।

यदि भेनेजुएलाले त्यति नै संख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्छ भने एल साल्भाडोर तयार रहेको प्रस्ताव बुकेलेले गरेका हुन । राष्ट्रपति बुकेलेले यो प्रस्ताव सिधै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

भेनेजुएलाली निर्वासितहरूमा धेरैजसोले बलात्कार र हत्या जस्ता अपराधमा सम्लग्नहरु रहेका भन्दै उनले तर भेनेजुएलाका राजनीतिक बन्दीहरू केवल शासन र शासकको विरोध गरेको कारण जेलमा भएको स्पष्ट पारेका छन ।

भेनेजुएलाका प्रमुख अभियोजक टारेक विलियम साबले बुकेलेको प्रस्तावको आलोचना गर्दै निर्वासितहरूमाथि कुन अपराधमा आरोप लागेको हो ? के उनीहरू न्यायाधीशसमक्ष उपस्थित भएका थिए ? के उनीहरूले कानुनी सहयोग पाएका थिए ? भनेर प्रश्न गरेका छन ।

भेनेजुएलाली सरकारले देशमा “राजनीतिक बन्दी छैनन्” भनेको छ । तर मानवअधिकार संस्थाहरूले यो दाबीलाई अस्वीकार गरेका छन् । हालै केही हप्तामा २०० भन्दा बढी भेनेजुएलालीहरूलाई अमेरिका बाट एल साल्भाडोर पठाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई कुख्यात अपराध संगठनसँग सम्बन्धित आरोप लगाएको छ।

ट्रम्पले सन् १७९८ को युद्धकालिन कानुनको प्रयोग गरेर सत्रु राष्ट्रूका नागरिकलाई बिना सामान्य कानुनी प्रक्रिया निर्वासित गर्ने अधिकार प्रयोग गरेका छन् ।

यो कानून अघिल्ला तीन युद्धहरूको समयमा मात्र प्रयोग गरिएको थियो । मडुरोले अमेरिकाको यो कदमलाई अपहरण र मानवअधिकारको गम्भीर उल्लंघन भनेका छन् ।

अमेरिकी सर्वोच्च अदालतले शनिबार अर्को समूहका भेनेजुएलाली निर्वासितहरूलाई अमेरिका बाहिर पठाउने प्रक्रिया रोक्ने आदेश दिएको छ ।

ह्वाइट हाउसले भने यो कानुनी चुनौतीलाई निराधार मुद्दा भनेको छ । ट्रम्प प्रशासनले आफ्नो कडाखालको आप्रवासन नीतिलाई निरन्तरता दिने बताएको छ ।

राष्ट्रपति बुकेलेको प्रस्तावले अन्तर्राष्ट्रिय कूटनीति, मानवअधिकार, र आप्रवासन नीतिबारे नयाँ बहस खडा गरेको छ । अर्कोतर्फ अमेरिका–भेनेजुएला–एल साल्भाडोरबीचको तीनपक्षीय सम्बन्धमा थप तनाव सिर्जना भएको देखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com