अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतमा, आजै प्रधानमन्त्री मोदीलाई भेट्ने


प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गरेका छन् । उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।

परिवारसँगै भारत भ्रमणमा आएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरे ।

आजै उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले बताएका छिन् ।

उनले आजै प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँकै निवासमा भेट्ने कार्यक्रम छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका थिए ।

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मङ्गलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com