नयाँ युद्धविराम प्रस्तावमा हमास लचिलो, अमेरिकी प्रतिक्रिया आउन बाँकी
प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

इजरायल हमास युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ योजना प्रस्ताव गरेका छन् । एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको जानकारी अनुसार यस प्रस्तावमा पाँचदेखि सात वर्षसम्म युद्धविराम रहने उल्लेख छ ।
इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै इजरायली बन्दीहरू रिहा गरिने, युद्धको औपचारिक अन्त्य गरिने, र इजरायले गाजाबाट पूर्ण रूपमा फिर्ता हुने योजना नयाँ यो प्रस्तावमा समावेश गरिएको छ ।
हमासको वरिष्ठ प्रतिनिधिमण्डल यो प्रस्तावको छलफलका लागि कायरो पुग्ने तयारीमा छ । अमेरिकाले पछिल्लो युद्धविरामको प्रस्तावप्रति कुनै टिप्पणी गरेको छैन ।
अमेरिकी विशेष दुत पनि गाजा क्षेत्रमा युद्धविरामको लागि लामो समय देखि प्रयासरत रहेका छन ।
पछिल्लो युद्धविराम एक महिना अघि भंग भएको थियो । त्यसपछि इजरायलले गाजामा बमवर्षा गर्न थालेको थियो । दुबै पक्षले युद्धविराम असफल हुनुमा एकअर्कालाई दोष दिएका थिए।
हमासको प्रतिनिधित्व राजनीतिक परिषदका प्रमुख मोहम्मद दरविश र प्रमुख वार्ताकार खालिल अल हय्याले गर्नेछन्।
केही दिनअघि मात्रै हमासले इजराययलको पछिल्लो प्रस्ताव अस्वीकार गरेको थियो । हमासले आफ्ना हतियार बुझाएमा मात्र छ साता लामो युद्धविराम गर्ने सर्त राखिएको थियो।
शनिबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमास पूर्ण रूपमा नष्ट नभएसम्म र सबै बन्दीहरू फिर्ता नभएसम्म युद्ध नरोकिने बताएका थिए ।
तर हमासले सबै बन्दीहरू फिर्ता गर्नुअघि इजरायलले युद्ध अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ भनेको थियो ।
वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले गाजाको शासन कुनै पनि प्यालेस्टिनी संस्थालाई हस्तान्तरण गर्न तयार रहेको संकेत गरेको छ ।
राष्ट्रिय र क्षेत्रीय स्तरमा सहमति गरिने संस्थालाई यो हस्तान्तरण हुन सक्नेछ । यसमा पश्चिम तटस्थित प्यालेस्टिनी प्राधिकरण वा नयाँ प्रशासनिक निकाय पर्न सक्छ।
तर नेतान्याहुले भविष्यमा गाजाको शासनमा प्यालेस्टिनी प्राधिकरणलाई कुनै भूमिका नदिने स्पष्ट बताएका छन् ।
यद्यपि वार्ताको सफलताको सम्भावना तत्काल भन्न सकिने अवस्था छैन । अधिकारीका अनुसार अहिलेको मध्यस्थ प्रयास गम्भीर छ । तर हमासले भने अभूतपूर्व लचकता देखाएको छ ।
गत २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी करिब १ हजार २०० मानिसहरू मारिएका थिए ।
२५१ जनालाई बन्दी बनाएर गाजामा हमास समूहले लगेका थिए । प्रत्युत्तरमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो ।
गाजाको हमास शासित स्वास्थ्य मन्त्रालयका अनुसार ५१ हजार २४० भन्दा बढी प्यालेस्टिनी प्रायः सर्वसाधारण मारिएका छन्।