अमेरिकी पूर्व सिनेटरकी श्रीमती भष्ट्राचारी ठहर, सजाय १२ जुनमा सुनाइने


प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

woman in gold dress holding sword figurine

अमेरिकाको न्यूयोर्कको एक अदालतले पूर्व न्युजर्सी सिनेटर रोबर्ट मेनेन्डेजकी ५८ बषीया पत्नी नाडिन मेनेन्डेजलाई भष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

उनलाई १५ वटै अभियोगमा दोषी ठहर अदालतले गरेको छ । ती अभियोगमा घूस, न्याय अवरोध र भ्रष्टाचार सम्बन्धी गम्भीर आरोपहरू रहेका छन् ।

आफ्ना पतिको तर्फबाट नगद, सुनका ब्रासलेटहरू र मर्सिडिज बेन्ज जस्ता महँगा उपहारहरू लिएर राजनीतिक सुविधा उपलब्ध गराएको आरोप छ ।

उनलाई आफ्ना पतिको साथमा सेप्टेम्बर २०२३ मा अभियोजन गरिएको थियो । तर स्तन क्यान्सरको उपचारका कारण उनको मुद्दा पछि सारिएको थियो ।

अब उनको सजाय घोषणा १२ जुन मा गरिने भएको छ । उनका पति रोबर्ट मेनेन्डेज लाई जुलाई २०२४ मा दोषी ठहर गरिँदा ११ वर्षको जेल सजाय सुनाइएको थियो ।

न्यूयोर्कको दक्षिणी जिल्ला लागि अमेरिकी अटर्नीको कार्यालयले जारी गरेको विज्ञप्तिमा मेनेन्डेज दम्पतीलाई अपराधमा साझेदार भनिएको छ ।

फैसलाले सरकारी अधिकारीहरूको शक्ति बिक्री गर्न सकिँदैन भन्ने सन्देश दिएको छ । मुद्दाका क्रममा सरकारी वकिलहरूले नाडिन मेनेन्डेज आफ्ना पतिको भ्रष्टाचार योजनाको हिस्सा भएको बताए ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो ले सन् २०२२ मा दम्पतीको न्यु जर्सीस्थित घरमा खोजी गर्दा १ लाख डलर भन्दा बढी मूल्यको सुनका सामग्रीहरू र सयौं हजार डलर नगद कपडामा वा खाममा लुकाएको अवस्थामा फेला पारेको थियो ।

सरकारले टेक्स्ट सन्देशहरू, डिजिटल कुराकानी, र एक गूगल सर्च पनि प्रस्तुत गरेको थियो । जसमा पूर्व सिनेटरले एक किलो सुनको मूल्य कति हुन्छ ? भनेर सर्च गरेका थिए ।

प्रहरीका अनुसार नाडिन र रोबर्ट मेनेन्डेजले पूर्व सिनेटरको प्रभाव प्रयोग गरी मिश्र सरकारलाई गोप्य रूपमा सहयोग गरेका थिए ।

त्यो बेलामा रोबर्ट मेनेन्डेज अमेरिकी सिनेटको विदेश नीति सम्बन्धी प्रभावशाली समितिको शीर्ष डेमोक्र्याट थिए। अब नाडिन मेनेन्डेजलाई लामो जेल सजाय हुने सम्भावना छ । उनको सजाय जुन १२ जुनमा सुनाइनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com