भारतको जम्मु कश्मीरमा आतंकवादी हमला, नेपालीसहित कम्तीमा २६ पर्यटकको मृत्यु
प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको चरमपन्थी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले दिएका जानकारी अनुसार बन्दुकधारीहरूले पर्यटकहरूलाई लक्षित गर्दै गोली चलाउँदा २६ जनाभन्दा बढीको मृत्यु भएको हो ।
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ ।
पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतङ्ककारी समूहले आक्रमण गर्दा कम्तीमा ३० जनाभन्दा धेरै घाइते छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनालाई आतंकवादी हमला बताएका छन् । दोषीलाई नछोडिने चेतावनी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमण छोट्याएर फर्किएका छन ।
जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालका वर्षहरूमा सर्वसाधारणमाथि लक्षित गरी गरिएको सबैभन्दा ठूलो हमला बताएका छन् ।
यस चरमपन्थी हमलामा कैयौं मानिस घाइते भएको जानकारी पनि प्राप्त भएको छ । प्रधानमन्त्री मोदीले एक्स मा यस घृणित घटनाको दोषीलाई कडा सजाय दिइने छ भनेर लेखेका छन ।
गृहमन्त्री अमित शाह सुरक्षा अवस्था समीक्षा गर्न श्रीनगर जानेछन् । हालसम्म कुनै समूहले हमलाको जिम्मेवारी लिएको छैन ।
यो फेब्रुअरी २०१९ पछि कश्मीरमा भएको सबैभन्दा ठुलो आतंकवादी हमला हुन सक्ने अधिकारीहरूले बताएका छन्। त्यतिबेला पुलवामामा भएको आत्मघाती हमलामा ४७ सीआरपीएफ सैनिक मारिएका थिए।
कश्मीरमा पर्यटकीय सिजन चलिरहेको बेला यो हमला भएको छ । पहलगाम पर्यटकहरूका लागि एक लोकप्रिय गन्तव्य हो ।
हरियाली, घाँसे मैदान र तालहरूले पर्यटकहरूलाई आकर्षित गर्छन् । हमला पहलगामदेखि झण्डै पाँच किलोमिटर टाढा भएको बताइएको छ ।
देश र विश्वभरबाट आउने पर्यटकहरू पहलगामको उपत्यकाको भ्रमण गर्छन्। अमरनाथ गुफा जाने बाटो पनि पहलगाम हुँदै जान्छ। श्रीनगरबाट पहलगामको दूरी लगभग सय किलोमिटर छ।
भारतीय संसदमा विपक्षी दलका नेता राहुल गान्धी र भारत भ्रमणमा रहेका अमेरिकी उप(राष्ट्रपति जेडी वेन्सले पनि घटनामा शोक व्यक्त गरेका छन्।