पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार, अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने


प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने भएको छ । सेन्ट पिटर स्क्वायरमा हुने अन्त्येष्टिमा लाखौंको उपस्थितिको रहने अपेक्षा गरिएको छ ।

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा गरिने भ्याटिकनले पुष्टि गरेको हो । लाखौं श्रद्धालुहरू उनीप्रति श्रद्धाञ्जली दिन त्यहाँ उपस्थित हुने अपेक्षा गरिएको छ।

८८ वर्षको उमेरमा सोमबार स्ट्रोकका कारण पोप फ्रान्सिसको निधन भएको हो । उनी कमजोर स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका थिए । निधन हुनु भन्दा २४ घण्टा अघि मात्रै उनले इस्टरको सन्देश दिएका थिए ।

विश्वका विभिन्न राष्ट्रप्रमुख र शाही परिवारका सदस्यहरूले अन्त्येष्टिमा सहभागिता जनाउने पुष्टि गरेका छन् ।

ब्रिटेनका राजकुमार विलियम, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा, स्पेनका राजा फिलिप छैठौं, र फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोँ लगायत अन्त्येष्टिमा सहभागिता प्रमुख व्यक्तिको सुचिमा रहेका छन् ।

हजारौं श्रद्धालुहरू फूल, क्रस, मैनबत्ती बोकेर भ्याटिकन सिटी पुगेका छन् र प्रार्थनामा सहभागी भएका छन्।

बुधबार बिहान पोपको पार्थिव शरीर च्यापलबाट कार्डिनलहरूको नेतृत्वमा प्रार्थनासहित सेन्ट पिटर बसिलिकामा ल्याइनेछ । शुक्रबारसम्म खुल्ला कफिनमा राखिनेछन् ।

पोपको निधनपछिको संक्रमणकालीन समयमा भ्याटिकनको नेतृत्व गरिरहेका कार्डिनल केभिन फेरेलले उक्त प्रक्रियाको सुरूवात प्रार्थनाबाट गर्नेछन्।

पोपको अनुरोधअनुसार कार्डिनलहरूका लागि कुनै निजी दर्शनको व्यवस्था गरिएको छैन । उनको कफिन पनि परम्परागत रूपमा मञ्चमा नराखिने बताइएको छ ।

अन्त्येष्टि शनिबार बिहान १० बजे सेन्ट पिटर बसिलिका अगाडि सुरु हुनेछ। विभिन्न देशका कार्डिनल, आर्चबिशप, बिशप, र पादरीहरूले सहभागी हुनेछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com