भारतमा भएको आतंकवादी हमलाको नेपालद्वारा निन्दा
प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना सरकारले गरेको छ ।
‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ ।
यो हाम्रो दृढ अडान हो विज्ञप्तिमा भनिएको छ । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन् विज्ञप्तिमा भनिएको छ’।
यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत उहाँले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
“नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ”, एक्समा उहाँले लेख्नुभएको छ ।
परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताउनुभएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् ।