अमेरिकाद्वारा मन्त्रालयको जनशक्ति घटाउने र विश्वभरका १०० विभागहरू बन्द गर्ने तयारी


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विदेश मन्त्रालयको व्यापक पुनर्संरचना योजना सार्वजनिक गरेका छन् । यस योजनाअनुसार अमेरिकामा मन्त्रालयको जनशक्ति १५ प्रतिशत ले घटाइनेछ । विश्वभरका १०० भन्दा बढी विभागहरू बन्द वा गाभिनेछन् ।

यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका फर्स्ट” अभियानको हिस्सा हो । अमेरिकी विदेश नीतिलाई पुनःपरिभाषित गर्दै संघीय सरकारको आकार घटाउने प्रयास यो प्रस्ताव मार्फत भइरहेको छ ।

रुबियोले मन्त्रालयलाई पठाएको इमेलमा “२१औं शताब्दीको चुनौती सामना गर्न हामीलाई नवप्रवर्तनलाई अवरुद्ध गर्ने र स्रोतको गलत प्रयोग गर्ने विशाल प्रशासनिक संरचना चाहिंदैन ” भनेर लेखिएको छ ।

विदेश मन्त्रालयका हालका ७३४ कार्यालयलाई घटाएर ६०२ मा सीमित गरिनेछ । १३७ कार्यालयलाई अर्का स्थानमा सारिनेछ । यस कार्यले दक्षता बढाउने अपेक्षा गरिएको छ।

विदेश सहायता कार्यक्रमहरूको समन्वय गर्न नयाँ प्रकारको मानवता र वैदेशिक मामिला सम्बन्धी कार्यालयको पनि स्थापना गरिने बताइएको छ ।

यस पुनर्संरचना योजनाको एक हिस्सा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडीका बाँकी कार्यहरूलाई नयाँ ठाउँमा स्थानान्तरण गर्नु पनि हो ।

ट्रम्प प्रशासन र अरबपति एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीले युएसएआईडीलाई लगभग विघटन गरिसकेका छन्।

योजनाअनुसार युद्ध क्षेत्र र संकटग्रस्त स्थानहरूमा विशेषज्ञ पठाउने कार्यालय हटाइनेछ । मानव अधिकार र लोकतन्त्र सम्बन्धी कार्यहरू पनि कटौती गरिनेछ ।

अफ्रिका मामिला, शरणार्थी र प्रवाससम्बन्धी कार्यहरू, र लोकतान्त्रिक प्रयासहरूमा संलग्न विभागहरू भने कायम रहने प्रस्तावमा देखिन्छ ।

यस योजनाले अमेरिकी दूतावासहरू बन्द गरिन्छ कि भन्ने स्पष्ट भएको छैन । तर अफ्रिकामा दूतावासहरू हटाइने सम्भावनाको खबरले अमेरिकी कूटनीतिक उपस्थिति र प्रभाव घट्ने चिन्ता उत्पन्न गराएको छ ।

नयाँ योजनाअनुसार ग्लोबल महिला मामिला कार्यालय र विविधता तथा समावेशी प्रयासहरूलाई हटाइनेछ । ट्रम्प प्रशासनले यी कार्यक्रमहरू सबै संघीय निकायहरूबाट हटाउने अभियान चलाएको छ ।

पुनर्संरचना कार्य कार्यकारी आदेशमार्फत लागू गरिने हो वा अन्य विधिबाट भन्ने अझै स्पष्ट भएको छैन। तर डेमोक्र्याट सांसदहरूले भने यो योजनालाई अमेरिकाको बाहिरको प्रभाव घटाउने प्रयास भन्दै आलोचना गरेका छन् ।

यो योजनाले अमेरिकाको विश्व नेतृत्व क्षमता, राष्ट्रिय सुरक्षा लक्ष्य, र लोकतान्त्रिक मूल्यहरू प्रवर्द्धन गर्ने क्षमतालाई खतरामा पार्दछ, भनेर डेमोक्र्याट सांसदहरूले आलोचना गरेका हुन ।

ट्रम्प प्रशासनले शिक्षा, स्वास्थ्य लगायत अन्य मन्त्रालयहरूमा पनि खर्च कटौती गरिरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com