पाकिस्तानी भिसा धारकहरूलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश
प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

भारत शासित कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको भोलिपल्ट भारत सरकारले पाकिस्तान विरुद्ध कडा कदम घोषणा गरेको छ ।
घोषित कदमहरूमा दुई देशबीचको मुख्य सिमाना जोड्ने सीमा नाका बन्द गरिएको छ ।
भारतले १९६० देखि लागू हुँदै आएको ऐतिहासिक सिंधु जल सन्धि निलम्बन, पाकिस्तानी कूटनीतिज्ञहरूको देश निकाला र केही पाकिस्तानी भिसा धारकहरूलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ ।
भारतले पाकिस्तानमाथि आक्रमणमा अप्रत्यक्ष रूपमा संलग्न भएको आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स मा पोस्ट गर्दै घृणित घटनामा संलग्नहरूलाई न्यायको कठघरामा ल्याइनेछ ।
भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार कश्मीर रेसिस्टेन्स नामक समूहले आक्रमण गरेका हुन । यद्यपि यसको स्वतन्त्र रूपमा पुष्टि भएको छैन । क्रमणकारीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
भारतले पाकिस्तानका दिल्लीस्थित दूतावासमा रहेका सैनिक सल्लाहकारहरूलाई तुरुन्तै देश छोड्न आदेश दिएको छ । अर्को हप्तासम्म थप कूटनीतिक व्यक्तिहरूको निष्कासनको तयारी गरिएको छ ।
भारत र पाकिस्तान दुबै देशले कश्मीरलाई आफ्नो दावी गर्दछन् । तर आ–आफ्नो नियन्त्रणमा अंश मात्र राखेका छन् ।
सन् १९४७ मा भारतको विभाजनसँगै पाकिस्तानको निर्माणपछि कश्मीरको विषयमा दुई देशबीच धेरै पटक युद्ध भइसकेको छ ।
भारतको रक्षा मन्त्री राजनाथ सिंहले केवल आक्रमण गर्नेहरूलाई मात्र होइन, पछाडि बसेर यस्तो षड्यन्त्र गर्नेहरूलाई पनि कारबाही गर्नेछौं भनेका छन ।
यस घटनापछि पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद् को बैठक बिहीबार बस्ने तयारी गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले पर्यटकहरूको ज्यान गएकोमा चिन्ता व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ ।
घटनामा अधिकांश पीडित हिन्दू पुरुषहरू रहेका छन् । तर एक स्थानीय मुस्लिम पुरुष पनि मारिएका थिए ।
केही प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूले गैर मुस्लिमहरूलाई लक्षित गरेका थिए । अरूले भने गोलीबारी अन्धाधुन्ध भएको बताए ।
यो आक्रमणले भारत र पाकिस्तानबीचको चिसो सम्बन्धलाई फेरि तनावपूर्ण बनाउने आशंका गरिएको छ ।