शान्ति वार्ता विफल बनाएको जेलेन्स्कीमाथि ट्रम्पको आरोप


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि शान्ति वार्ता विफल बनाएको आरोप लगाएका छन् । जेलेन्स्कीले रुसद्वारा २०१४ मा कब्जा गरिएको क्राइमियालाई मान्यता नदिने भनाइपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यको लागि सम्झौता धेरै नजिक रहेको दाबी गरे । तर, उनले भने, जेलेन्स्कीले अमेरिकी प्रस्ताव अस्वीकार गर्दा युद्ध झनै लम्बिनेछ ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेन–रुस युद्ध अन्त्यको लागि अमेरिकाको दृष्टिकोण सार्वजनिक गर्दै दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेको केही भूभाग गुमाउनु पर्ने अवस्था आउने बताएका थिए ।

युक्रेनले क्राइमिया कुनै हालतमा नछाड्ने अडान लिँदै आएको छ । जेलेन्स्कीले “यस विषयमा कुनै सम्झौता हुन सक्दैन । यो हाम्रो संविधानविपरीत छ ” भनेका छन ।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, “म कुनै पक्षको समर्थन गर्न चाहन्न । मलाई चाहिएको भनेको यो युद्ध सकियोस् ” भन्ने मात्रै हो ट्रम्पले भनेका छन ।

तर क्राइमियामाथि रुसी नियन्त्रणलाई मान्यता दिनु न त युक्रेनका लागि राजनीतिक रूपमा सम्भव छ, न त अन्तर्राष्ट्रिय कानुनी मान्यताअनुसार स्वीकार्य हुनेछ ।

यसैबीच युक्रेनको राजधानी कीभमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको छ । कीभका मेयर भिटाली क्लिट्स्कोका अनुसार हमलामा दुई जनाको मृत्यु भएको छ । ५४ जना घाइते भएका छन् ।

जसमा बालबालिका र गर्भवती महिला पनि छन्। आक्रमणपछि आवासीय भवनमा आगलागी र भग्नावशेषमा मानिसहरू फसेको जनाइएको छ । यस्तै पूर्वी सहर मर्हानेत्समा एक बसमाथि ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु भएको छ ।

ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्ध पहिले देखिनै तनावपूर्ण रहँदै आएको छ । यसअघि फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताबीच भनाभनसमेत भएको थियो ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने, “रुससँग सम्झौता गर्नु सजिलो लाग्यो, तर युक्रेनसँग अझै गाह्रो छ।” उनले जेलेन्स्कीसंग पोप फ्रान्सिसको अन्तिम संस्कारका बेला भेट हुन सक्ने बताएका छन् ।

चुनावी प्रचारका क्रममा ट्रम्पले युद्ध एक दिनमै अन्त्य गर्न सक्ने दाबी गरेका थिए । तर राष्ट्रपति बनेको करिब १०० दिन पुगिसक्दा पनि युद्धको अन्त्य नजिक देखिँदैन ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले “राष्ट्रपति निराश छन् । उनको धैर्य समाप्त हुँदैछ ” भनेर भनेकी छन । उप राष्ट्रपति भान्सले चेतावनी दिँदै यदि रुस र युक्रेनबीच सम्झौता नभए अमेरिकी मध्यस्थता फिर्ता हुने बताएका छन ।

लण्डन वार्तामा बेलायत , फ्रान्स, जर्मनी, युक्रेन र अमेरिकी अधिकारीहरूले युद्धविरामका लागि छलफल गर्ने कार्यक्रम थियो । तर अमेरिकी विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टीभ विट्कफ आकस्मिक रूपमा सहभागी भएनन् ।

अमेरिकी अधिकारीहरूले यसलाई ‘लजिस्टिक कारण’ भनेका छन्, तर बेलायती कूटनीतिज्ञहरू यसबाट अचम्मित भएको बताइएको छ।

सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युद्धमा हजारौ मानिसको मृत्यु भएको अनुमान छ । करिब ७० लाख युक्रेनीहरू अहिले शरणार्थीको रूपमा संसारभर विस्थापित छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com