पाकिस्तानद्वारा भारतीयलाई दिइएको भिसा रद्द, तनाव चुलिदै
प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार

भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको सशस्त्र आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ ।
घटनामा २६ जना पर्यटकको मृत्यु भएपछि दुवै देशले एकअर्काविरुद्ध कडा कदमहरू चालेका छन् ।
पाकिस्तानले भारतसँगको भिसा सुविधा तत्कालका लागि निलम्बन गरेको छ । पाकिस्तानले भारतीय कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ ।
भारतीय उडानहरूका लागि आफ्नो हवाई मार्ग बन्द गरिदिएको छ ।
भारतीय प्रहरीले चार जना संदिग्ध आक्रमणकारीमध्ये तीन जनाको नाम सार्वजनिक गरेको छ । जसमा दुई जना पाकिस्तानी नागरिक र एक जना स्थानीय कश्मीरी रहेको बताइएको छ ।
यद्यपि पाकिस्तानले भारतका सबै आरोपहरू अस्वीकार गरेको छ। मंगलबार पहलगाम क्षेत्रमा पर्यटकमाथि अज्ञात बन्दूकधारीहरूले गोली चलाउँदा २६ जनाको मृत्यु भएको थियो । यो हालका वर्षहरूमा भएको एकदमै घातक हमला मानिएको छ।
भारतीय अधिकारीहरूका अनुसार ती हमलाकारीहरू पाकिस्तानस्थित आतङ्ककारी संगठन लश्कर ए तोयबा का सदस्य हुन् ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले विज्ञप्ति जारी गर्दै भारतले घटना सँग पाकिस्तानलाई जोड्न गरेको प्रयासलाई खारेज गरेको छ।
“विश्वसनीय अनुसन्धानबिना र प्रमाणबिना लगाइएका आरोपहरू अस्वीकार्य छन्,” पाकिस्तानले निकालेको विज्ञप्तिमा भनिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रत्येक आतङ्ककारी र उनीहरूका समर्थकहरूलाई चिन्न, खोज्न र सजाय दिन कुनै कसर बाँकी राख्ने छैन भनेका छन ।
बुधबार बेलुकी भारतले अटारी–वाघा नाका तुरुन्त बन्द गरेको छ । साथै, पाकिस्तानका लागि सबै प्रकारका भिसा सेवा पनि रद्द गरिएको छ ।
यसको जवाफमा पाकिस्तानले भारतसँगको सिन्धु जल सम्झौता निलम्बन गर्ने भारतको निर्णयको विरोध गर्दै यदि भारतले पानी रोक्ने वा मोड्ने प्रयास गर्यो भने त्यसलाई युद्ध घोषणा सरह लिइनेछ भनेर चेतावनी दिएको छ ।
पाकिस्तानले भारतसँगको सबै व्यापार पनि निलम्बन गरेको छ । इस्लामाबादस्थित भारतीय उच्चायोगमा कार्यरत कूटनीतिज्ञहरूको संख्या घटाएर ३० पुर्याएको छ ।
भारतीय रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई ३० अप्रिलभित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ ।
भारतले आक्रमणपछि कश्मीरभर ठूलो संख्यामा सर्वसाधारणलाई पक्राउ गरेको छ । प्रहरीले १५०० जनाभन्दा बढीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।