अमेरिकाको १० बिलियन डलर हरेक हप्ता खर्च कटौती गरिरहेको मस्कको दावी
प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

एलन मस्कद्वारा स्थापना गरिएको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डग) ले औसतमा हरेक हप्ता १० बिलियन डलर भन्दा बढी खर्च कटौती गरेको दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरू भएयता मस्क नेतृत्वमा यो संरचना निर्माण गरिएको थियो । ट्रम्पले भने, “हामी करिब २०० बिलियन डलर जोगाएका छौं, र यो अझ बढ्दैछ ” भनेका छन ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डग) को वेबसाइटमा अघिल्ला प्रशासनहरूद्वारा बनाइएका ठेक्का, अनुदान र लिजहरू रद्द गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सरकारी जनशक्ति घटाउनेमा ध्यान केन्द्रित गरिरहेको उल्लेख छ ।
तर विश्लेषकहरुले केही ठूला बचतका दाबीहरूमा पर्याप्त प्रमाण नदेखिएको बताएका छन । गत अक्टोबरमा एलन मस्कले संघीय बजेटबाट २ ट्रिलियन डलर कटौती गर्ने लक्ष्य राखेका थिए ।
तर पछि उनले यो लक्ष्य घटाएर १५० बिलियन डलर बनाएका थिए । जुन उनले २०२६ को अन्त्यसम्म “भ्रष्टाचार र अपव्यय कटौती” गरेर हासिल गर्ने बताएका छन् ।
अमेरिकाको पछिल्लो आर्थिक वर्षको संघीय बजेट ६.७५ ट्रिलियन डलरको थियो। डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डग) ले आफ्नो वेबसाइटमा कूल बचतको अपडेट राख्ने गरेको छ ।
जुन २० अप्रिलसम्म १६० बिलियन डलर पुगेको देखिन्छ । तर यसमध्ये ४० प्रतिशत भन्दा कम रकम मात्र छुट्टाछुट्टै विवरणसहित प्रस्तुत गरिएको छ ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डग) ले प्रमाणहरू पचाउन सकिने र पारदर्शी ढंगले सार्वजनिक गर्ने प्रयास गरिरहेको बताएको छ ।
हालसम्म कूल बचतको करिब ३० प्रतिशत बराबरका रसीदहरू अपलोड गरिएको जनाएको छ । केही प्रमाणहरू कानुनी कारणले सार्वजनिक गर्न नसकिएको बताइएको छ ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डग) ले संघीय खर्चमा केही हदसम्म कटौती गरेको देखिए पनि उसले दाबी गरेका सबैभन्दा ठूला बचतहरूलाई प्रमाणित गर्ने ठोस आधार सार्वजनिक गरेको छैन ।
यसले यथार्थमा कति बचत भयो भन्ने निर्धारण गर्न असम्भव बनाएको छ ।