अमेरिकासंग आणविक वार्ता भइरहेको बेला ईरानी बन्दरगाहमा विष्फोट, १४ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार

ईरानको ठूलो बन्दरगाहमा विस्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । विष्फोटमा ७५० जना घाइते भएका छन ।

ईरानको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा ठूलो विस्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको हो । त्यहाँ ७५० भन्दा बढी व्यक्ति घाइते भएको ईरानी अधिकारीहरूले बताएका छन्।

यो विस्फोट दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको बन्दरगाहमा भएको थियो ।

विस्फोटले वरपरका भवनहरूको झ्याल र छाना उडेका छन । गाडीहरू ध्वस्त भएका छन । स्थानीय बासिन्दाहरूले ५० किलोमिटर टाढासम्म विस्फोटको प्रभाव महसुस गरिएको बताएका छन् ।

भिडियोहरूमा सुरुमा आगो सल्किरहेको देखिन्छ, जुन क्रमशः ठूलो विस्फोटमा परिणत भएको थियो । विस्फोटपछि मानिसहरू भागिरहेका र केही घाइते सडकमा ढलेका देखिएका थिए ।

एक निजी समुद्री सुरक्षा संस्था ले विस्फोट भएको कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलमा प्रयोग हुने ठोस इन्धन रहेको अनुमान गरेको छ ।

उक्त संस्थाका अनुसार मार्च २०२५ मा सो बन्दरगाहमा ‘सोडियम पर्च्लोरेट’ नामक रकेट इन्धन खन्याइएको थियो।

ईरानी राज्य सञ्चारमाध्यमहरूका अनुसार आगो सल्किएपछि असुरक्षित रसायन भण्डारण कन्टेनरहरूमा फैलिएको थियो । त्यसले ठूलो विस्फोट निम्त्यायो ।

भन्सार कार्यालयले पनि रासायनिक तथा खतरनाक वस्तु भण्डारण डिपोमा आगलागी भएको पुष्टि गरेको छ।

ईरानको राष्ट्रिय विपद् व्यवस्थापन संगठनले यसअघि नै बन्दरगाह प्रशासनलाई रासायनिक वस्तुको सुरक्षासम्बन्धी चेतावनी दिएको थियो ।

शाहिद राजाई बन्दरगाह ईरानको सबैभन्दा आधुनिक टर्मिनल हो । जहाँबाट देशको अधिकांश व्यापारिक ढुवानी गरिन्छ । यो बन्दरगाह होर्मुज जलडमरूमध्यमा रहेको छ ।

जुन तेल ढुवानीका लागि विश्वकै प्रमुख मार्ग पनि हो । यो स्थान बन्दर अब्बास शहरबाट करिब २० किलोमिटर पश्चिममा पर्छ ।

ईरानको राष्ट्रिय तेल कम्पनीका अनुसार विस्फोटको असर देशका तेल प्रशोधन केन्द्र, इन्धन ट्यांक र पाइपलाइनहरूसँग सम्बन्धित छैन ।

ईरानी राष्ट्रपति मसूद पेज़ेश्कियानले घटनाको छानबिन गर्न गृहमन्त्रीलाई सो स्थानमा पठाएका छन् ।

ईरान र अमेरिका बीच आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताका लागि वार्ता भइरहेको समयमा यो विष्फोट भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com