जेलेन्स्कीसँग भेटपछि ट्रम्पले पुटिनमाथि शंका बढाए


प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध अन्त्य गर्ने इच्छामाथि शंका व्यक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलन्स्कीसँग भेटपछि ट्रम्पको यो धारणा बाहिर आएको हो ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन रोम पुगेका ट्रम्प र जेलेन्स्कीबीचमा एक्लाएक्लै भेटभएको थियो ।

रोमबाट फर्किएपछि सामाजिक सञ्जाल ट्रुथ सोसियल मा लेख्दै ट्रम्पले यस साता कीभमा भएका रुसी मिसाइल आक्रमणहरूपछि पुटिन “मलाई तानेर लग्दैछ जस्तो लाग्छ” भनेका छन् ।

उनले थपे, “नागरिक क्षेत्रहरूमा मिसाइल प्रहार गर्न पुटिनसँग कुनै कारण छैन।” ट्रम्प र जेलन्स्कीलाई शनिबार बिहान सेंट पीटर्स बासिलिकामा, अन्त्येष्टिको केही समयअघि, गम्भीर संवादमा देखिएको थियो । यो ट्रम्प र जेलन्स्कीबीचको फेब्रुअरीको तनावपूर्ण ह्वाइट हाउस भेटपछिको पहिलो प्रत्यक्ष भेट थियो।

ह्वाइट हाउसले करिब १५ मिनेट लामो भेटलाई “धेरै फलदायी” भनेको छ भने जेलन्स्कीले यसलाई “ऐतिहासिक बन्न सक्ने सम्भावना भएको” बताएका छन ।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन्, “मलाई लाग्छ पुटिन युद्ध रोक्न चाहँदैन होला, उसले मलाई झुक्याउँदैछन । उसलाई बैंकिङ वा सेकेन्डरी प्रतिबन्ध जस्ता उपायबाट फरक ढंगले व्यवहार गर्नुपर्छ जस्तो लाग्दैछ ।

ट्रम्पले अघिल्लो हप्ता आफ्ना दूत स्टीव विटकोफ र पुटिनबीच तीन घण्टा लामो वार्तापछि रुस र युक्रेन “सम्झौतासँग नजिक” रहेको बताएका थिए ।

यसैबीच राष्ट्रपति पुटिनले विटकोफसँग युक्रेनसँग बिना सर्त प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन्। अरू एउटा तस्बिरमा ब्रिटिश प्रधानमन्त्री सर कीर स्टारमर र फ्रेन्च राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि ट्रम्प र जेलन्स्कीसँग देखिएका छन् ।

म्याक्रोँले जेलन्स्कीको काँधमा हात राखेका छन्, जसले युक्रेन र अमेरिकाबीचको वार्तामा युरोपेली नेताहरूको भूमिका देखाउँछ ।

भेटपछि, ट्रम्प र जेलन्स्की सँगै बासिलिकाको सिँढीबाट तल झरेका थिए र अगाडिको पंक्तिमा बसेका थिए ।

हजारौं मानिसहरूले पोपको अन्त्येष्टिमा सडकमा लाइन लागेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com