अमेरिकी अग्रसरतापछि रुवाण्डा र डीआर कंगो शान्ति सम्झौताको मस्यौदा बनाउन तयार
प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

रुवाण्डा र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो) ले एकअर्काको सार्वभौमिकताको सम्मान गर्ने सहमति गरेका छन ।
अमेरिकाको वाशिंगटनमा आगामी २ मेसम्म शान्ति सम्झौताको मस्यौदा तयार गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।
दुबै देशका विदेश मन्त्रीहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियो पनि उपस्थित थिए ।
पछिल्ला केही महिनाहरूमा रुवाण्डाको समर्थन प्राप्त एम २३ विद्रोहीहरूले पूर्वी (डीआर कङ्गो) को खनिजसम्पन्न क्षेत्रमा कब्जा जमाएपछि लाखौं नागरिक विस्थापित भएका छन्।
आफ्नो भूमिमा नियन्त्रण गुमाएपछि किन्शासास्थित सरकार अमेरिकासँग सहयोग माग्दै खनिजमा पहुँचको सर्तमा सम्झौता गरेको बताइएको छ ।
पूर्वी (डीआर कङ्गो) का सबैभन्दा ठूला सहरहरू गोमा र बुकाभु अहिले एम २३ को नियन्त्रणमा छन् ।
रुवाण्डा र (डीआर कङ्गो) बीचको सम्बन्ध निकै तनावपूर्ण रहँदै आएकोमा वाशिंगटनमा भएको यो बैठक र संवादमार्फत विवाद समाधान गर्ने प्रतिबद्धता महत्वपूर्ण प्रगतिको संकेत मानिएको छ ।
सम्झौतामा अब दुबै देशले अमेरिकी सरकार र निजी क्षेत्रबाट लगानीको आशा गरेका छन् । यद्यपि, उत्तर किभु प्रान्तमा लडाइँ जारी रहेको देखिएको छ ।
यसै हप्ता (डीआर कङ्गो) र एम २३ दुबै पक्षले शान्तिप्रति प्रतिबद्धता व्यक्त गर्दै स्थायी युद्धविरामको आशा व्यक्त गरेका थिए ।
पूर्वी डीआर कङ्गोका अधिकारीहरूका अनुसार जनवरीदेखि अहिलेसम्म करिब ७ हजार जनाको मृत्यु भइसकेको छ ।
दशकौंदेखि चलिरहेको यो द्वन्द्व यस वर्षको सुरुवातदेखि झनै चर्किएको हो । एम २३ ले अभूतपूर्व आक्रमण गर्दै गोमा र बुकाभु कब्जा गरिसकेको छ ।
(डीआर कङ्गो) ले रुवाण्डालाई एम २३ लाई हतियार उपलब्ध गराउने र आफ्ना सैनिक पठाएर विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघ र अमेरिका दुवैले रुवाण्डाको संलग्नता वताएका भए पनि रुवाण्डाले त्यसको खण्डन गर्दै आएको छ ।