गाजामा युद्धविरामको प्रयास : केही प्रगति तर सम्झौता टाढा
प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले गाजामा नयाँ युद्धविरामका लागि गरिएका प्रयासमा केही प्रगति भएको बताएका छन्। तर, इजरायल र हमासबीच युद्ध अन्त्य गर्ने सम्झौता अझै असम्भवजस्तै रहेको उनले आइतबार बताएका छन् ।
“बिहीबारको बैठकमा अघिल्ला छलफलहरूको तुलनामा केही प्रगति देखिएको छ, तर हामीले मुख्य प्रश्नको जवाफ खोज्न बाँकी छ, यो युद्ध कसरी अन्त्य गर्ने ?” शेख मोहम्मदले भने। उनी कतारका विदेशमन्त्री पनि हुन्।
मोसादका निर्देशक डेभिड बार्नियाले युद्धविरामका लागि छलफल गर्न बिहीबार दोहा भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शेख मोहम्मदले वार्तामा कुन विषयमा प्रगति भएको हो भन्ने खुलाएनन्, तर इजरायल र हमासबीच वार्ताको मुख्य उद्देश्यमै मतभेद रहेको बताए।
“हमासले इजरायलले गाजामा युद्ध अन्त्य गरेमा बाँकी सबै बन्धक फिर्ता गर्न तयार छ, तर इजरायलले युद्ध अन्त्यको स्पष्ट योजना नदिई बन्धक रिहाइको माग गरेको छ,” उनले भने। “साझा लक्ष्य नहुँदा युद्ध अन्त्यको सम्भावना कम हुन्छ।”
टर्कीका विदेशमन्त्री हाकान फिदानले हमाससँगको कुराकानीमा समूह दुई-राज्य समाधानसहित दीर्घकालीन सम्झौताका लागि खुला रहेको बताए। फिदानले दोहामा हमासका वरिष्ठ नेताहरूसँग गाजाको मानवीय अवस्था र युद्धविरामबारे छलफल गरेका थिए। “हमासले दिगो युद्धविरामका लागि काम गरिरहेको छ,” टर्की स्रोतले भन्यो।
इजरायलले मार्च १८ देखि गाजामा पुनः आक्रमण सुरु गरेको छ, जुन जनवरीको युद्धविराम भंग भएपछि भएको हो। हमासले अक्टोबर ७, २०२३ मा गरेको आक्रमणमा १,२०० मानिस मारिएका थिए र २५१ जना बन्धक बनाइएका थिए। इजरायलको जवाफी आक्रमणमा हालसम्म ५१,४०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
कतार र टर्कीले गाजामा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग र द्विपक्षीय प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।