अमेरिकाले यमनको हुथीविरुद्ध गरेको हवाई आक्रमणमा कम्तीमा ६८ आप्रवासीको मृत्यु
प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकाले हुथी विद्रोही नियन्त्रित यमनको उत्तरपश्चिम क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना अफ्रिकी आप्रवासीको मृत्यु भएको छ ।
हुथी समूहद्वारा सञ्चालित टिभी च्यानल ‘अल मसीरा’ का अनुसार, यमनको सादा प्रान्तस्थित आप्रवासी हिरासत केन्द्रमा भएको अमेरिकी हवाई आक्रमण मा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको हो । अन्य ४७ जना गम्भीर घाइते भएका छन्।
च्यानलले भवनको भग्नावशेषमा परेका शवहरू देखाउने केही ग्राफिक दृश्यहरू पनि सार्वजनिक गरेको छ। अमेरिकी सेनाले यस घटनाबारे तत्काल कुनै टिप्पणी गरेको छैन।
तर, यस घटनाभन्दा केही घण्टा अघि अमेरिकी सेनाको सेन्ट्रल कमान ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा १५ मार्चदेखि हुथीविरुद्धको हवाई अभियान तीव्र बनाइएको बताएको थियो । उसले यसबीच ८०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो।
ती आक्रमणहरूले सयौं हुथी लडाकू र मिसाइल तथा ड्रोन कार्यक्रमको नेतृत्व गरिरहेका केही वरिष्ठ नेताहरूको ज्यान लिएको दावी गरिएको छ।
तर हुथी नियन्त्रणमा रहेका स्थानीय अधिकारीहरूले ती आक्रमणहरूमा सर्वसाधारण नागरिकको ठूलो संख्यामा मृत्यु भएको बताउँदै आएका छन्। उनीहरूले हुथी सदस्यहरुको मृत्यु हुने हुथी विद्रोही सदस्यहरूको संख्या कम कम रहेको दावी गरेका छन ।
सादा स्थित हिरासत केन्द्रमा आक्रमणका बेला ११५ अफ्रिकी आप्रवासीहरू थिए। तीमध्ये धेरैजसो कामको खोजीमा यमन हुँदै साउदी अरेबिया प्रवेश गर्ने उद्देश्यले आएका थिए। यद्यपि, यमनको दशकौंदेखिको द्वन्द्वका कारण उनीहरू शोषण, हिंसा र जोखिमपूर्ण यात्राको शिकार हुँदै आएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम का अनुसार २०२४ मा मात्रै करिब ६१ हजार आप्रवासी यमन पुगेका छन । ति मध्ये धेरैसँग जीविकोपार्जनको कुनै माध्यम छैन।
हुथीहरु शिया विद्रोही समूह हुन् । उनीहरुले यमनको उत्तरपश्चिम भाग कब्जा गरेका छन्। उनीहरूले इजरायल हमास युद्धको समर्थनमा आफूहरू अमेरिकी, बेलायती वा इजरायली पक्षमा रहेका जहाजहरू मात्र लक्ष्य बनाएको दाबी गर्दै आएका छन् ।
सन् २०२३ नोभेम्बरदेखि हुथीहरुले रेड सी र अदनको खाडी क्षेत्रमा दर्जनौं व्यापारी जहाजहरूमा मिसाइल, ड्रोन र सानो डुङ्गाको प्रयोग गरी आक्रमण गरेका छन्।
राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा सत्तामा आएपछि हुथीहरुलाई फेरि “विदेशी आतंकवादी संगठन” को रूपमा सूचीबद्ध गरेका छन्।
दशकौँदेखि जारी यमनको गृहयुद्धमा हालसम्म १ लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । करिब ४८ लाख मानिस विस्थापित भएका छन्। देशको आधा जनसंख्या मानवीय सहयोगमा आश्रित छ।