रुसद्वारा ३ दिने युद्धविरामको घोषणा, अमेरिका र युक्रेनको प्रतिकृया आउन बाँकी
प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका हुन ।
क्रेमलिनले विज्ञप्ति जारी गर्दै युद्धविराम ८ मेको बिहानदेखि ११ मेसम्म लागु हुने जानकारी दिएको छ।
विज्ञप्तिमा पुटिनले दोस्रो विश्वयुद्धको समाप्तिको ८० औँ वार्षिकोत्सवको अवसरमा “मानवीय कारणहरूका आधारमा” यो निर्णय लिएका हुन् भनिएको छ ।
हालसम्म युक्रेनी पक्षले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। रूसी विज्ञप्तिको “रूसले युक्रेनी पक्षले पनि यो उदाहरणको अनुसरण गर्नु पर्छ भन्ने विश्वास गर्छ भनिएको छ ।
“यदि युक्रेनी पक्षबाट युद्धविराम उल्लंघन गरियो भने, रूसी सशस्त्र बलहरूले त्यसको उचित र प्रभावकारी जवाफ दिनेछन्।”
रूसी पक्षले पुन शान्ति वार्ताको लागि बिना सर्त तयार रहेको उल्लेख गरेको छ । युक्रेनी संकटका ‘मूल कारण’ अन्त्य गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय साझेदारहरूसँग रचनात्मक सहकार्यका लागि आफू खुला रहेको बताएको छ।
यसअघि रुसले ३० घण्टे इष्टर युद्धविरामको घोषणा गरेको थियो । यद्दपी यो युद्धविरामको पालना दुबै पक्षबाट नभएका खबर बाहिर आएका थिए ।
पछिल्लो युद्धविरामको घोषणाका बारेमा अमेरिकाले प्रतिकृया जनाउन बाँकी रहेको छ । रुस र युक्रेनबीचको युद्धलाई अन्त्य गर्न अमेरिकाले आफनो प्रयास जारी राखेको बताइरहेको छ ।
अमेरिकाले पछिल्लो सातादेखि रसिया–युक्रेन शान्ति वार्ताका लागि अत्यन्तै संवेदनशील भएको बताउँदै यो सन्दर्भमा कूटनीतिक प्रयास तीव्र बनाएको बताएको छ।
अमेरिकाले दुबै पक्षबीच सम्झौता गराउन प्रयास गरिरहेको छ । तर ट्रम्प प्रशासनले यदि प्रगति देखिएन भने वार्ता प्रयासबाट आफूहरू पछि हट्ने चेतावनी पनि दिदै आएको छ ।
रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरीय आक्रमण सुरु गरेको थियो । हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
२०१४ मा रुसले अधिग्रहण गरेको दक्षिणी क्राइमिया प्रायद्वीप पनि यसमा सामेल छ। सन् २०२२ यता भएको युद्धका कारण हजारौं मानिसको ज्यान गएको छ । मृतकहरु अधिकांश सैनिक रहेका छन ।