ट्रम्प कार्यकालको पहिलो १०० दिनमा अमेरिकाबाट ८० नेपाली डिपोर्ट
प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको पहिलो सय दिनमा अमेरिकाबाट ८० जना नेपालीहरू डिपोर्ट भएका छन् । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि त्यसबाट नेपालीहरू पनि प्रभावित बनेका हुन्। जसका कारण दलाललाई लाखौँ तिरेर बिना भिसा अमेरिका प्रवेश गरेका र कागजात नभएका नेपालीहरू डिपोर्ट हुने क्रम निरन्तर चलिरहेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको हो। नेपालको अध्यागमन विभागले दिएको जानकारी अनुसार अमेरिकाले अप्रिल १ देखि २६ सम्म २२ जना कागजातविहीन नेपालीलाई डिपोर्ट गरेको छ।
अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो। जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए। जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकैदिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए। अमेरिकाले २ जना नेपालीलाई डिपोर्ट गरेर पानामा पठाएको थियो। उनीहरूको अवस्था अज्ञात छ।
त्यस्तै, सन् २०२५ को जनवरीदेखि अप्रिल २६ सम्म अर्थात् एक सय १६ दिनमा ८७ नेपाली अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएको नेपालको अध्यागमन विभागले जानकारी दिएको छ। उनीहरू कागजात नभएका कारणले अमेरिकाबाट डिपोर्ट भएका हुन् भने अधिकांश मेक्सिकोको बाटो हुँदै बिना भिसा अमेरिका प्रवेश गरेकाहरू छन्।
सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ४ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या झण्डै दोब्बरले बढी छ। सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ। सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट स्वदेश फर्किएका थिए।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट बनाइदिदै आएको छ ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका नागरिकहरु स्वीकार नगर्ने देशलाई कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिदै आएका छन् । सोही अनुरुप कतिपय देशका सरकारी अधिकारीहरुलाई अमेरिकी भिसामा अमेरिकाले बेलाबेलामा प्रतिबन्ध समेत लगाउँदै आएको छ । तर नेपालका सन्दर्भमा भने कहिले पनि यस्तो समस्या उत्पन्न भएको छैन ।

ट्रम्प प्रशासन सुरु भइसकेपछि आइसले अहिलेसम्म कतिजना नेपालीहरुलाई पक्राउ गरेको छ भन्नेबारे यकिन विवरण प्राप्त भएको छैन । यस अगाडि बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई आइसले पक्राउ गरेको थियो थियो । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा पठाएका नेपालीहरुको संख्या २७ सयभन्दा बढी रहेको थियो । आइसको रिपोर्ट अनुशार ४ बर्षको अवधिमा आइसको हिराशतमा २८९१ जना नेपालीहरु परेका थिए ।
आइसले बाइडेन कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरु विभिन्न अपराधमा दोषी ठहरिएकाहरु थिए भने २०२३ मा पक्राउ परेकाहरुमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।
त्यस्तै विनाभिसा सिमा पार गर्ने क्रममा सीबीपी लगायतले पक्राउ गरेर आइसको हिराशतमा राखिएका र आइस आफैले अमेरिकाभित्र पक्राउ गरेका नेपालीहरु आर्थिक बर्ष २०२४ मा ७१० जना, २०२३ मा ८३५ जना, २०२२ मा ९६२ जना र २०२१ मा ३८४ जना रहेका थिए ।
बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । तर सबै नेपालीहरुलाई आइसको हिराशतमा पठाइएको थिएन । केबल झण्डै २८ सय नेपालीहरुलाई मात्र आइसको हिराशतमा पठाइएको थियो । अरुलाई क्याच एण्ड रिलिज नीति अन्तरगत अमेरिकामा छाडिएको थियो ।
अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।