अमेरिकाको फ्लोरिडामा डुंगाले फेरीलाई ठक्कर दिएपछि दुर्घटना


प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकाको फ्लोरिडा क्लियरवाटर सहरमा डुंगा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा १० जना घाइते भएका प्रहरीले जनाएको छ।

क्लियरवाटर फेरीमा ४५ जना सवार थिए । जसमा दुई जना चालक दलका सदस्य पनि थिए । उक्त फेरीलाई अर्को डुंगाले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि उक्त डुंगा घटनास्थलबाट फरार भएको थियो ।

पछि सुरक्षा निकायले उक्त डुंगाको पहिचान गरेको क्लियरवाटर सिटी अधिकारीहरूले बताएका छन्। सहरका अधिकारीहरूले उक्त दुर्घटना देखेका वा जानकारी भएका व्यक्तिहरूलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

घटनामा धेरै मानिसहरू घाइते भएकाले क्लियरवाटर दमकल विभागले ठूलो संख्यामा घाइते हुने घटनाको रुपमा घोषणा गरेको थियो । प्रहरीका अनुसार कम्तीमा १० जना घाइते भएका छन् ।

अमेरिकी कोस्ट गार्डले दिएको जानकारीअनुसार १२ जनालाई नजिकैको अस्पतालमा लगिएको थियो । सबै घाइतेहरू फेरीमै सवार थिए । जुन घटनापछि बालुवाको टिलामा फेरी अड्किएको थियो । दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा उक्त डुंगा तीव्र गतिमा फेरीतर्फ आएको देखिन्छ । प्रहरी स्थानीय समय अनुसार आइतबार राति पौने ९ बजे घटनास्थलमा पुगेको थियो।

अधिकारीहरूले ठोक्किएको निजी डुंगा घटनास्थलबाट करिब ६ किलोमिटर टाढा फेला परेको बताएका छन । उक्त डुंगाका चालक अनुसन्धानमा सहयोग गरिरहेको र उनी मदिरा सेवन नगरेको प्रमाणित भएको छ।

अहिले अनुसन्धानकर्ताहरूले घटनामा आरोप लगाउनुपर्ने हो वा होइन भन्ने विषयमा निर्णय गरिरहेका छन् । डुंगाले फेरीको पछिल्लो भाग फुटाएको र ठूलो धक्का परेको स्थानीयले बताएका छन् ।

दुर्घटनापछि नजिकका डुंगा चालकहरूले आफ्नै डुंगा प्रयोग गरी यात्रुहरूलाई सुरक्षित स्थानमा पुर्याएको जनाइएको छ । यस घटनाको अनुसन्धान फ्लोरिडा फिश एन्ड वाइल्डलाइफ कन्जरभेसन कमिसनले अमेरिकन कोस्ट गार्डको सहयोगमा गर्नेछ ।

क्लियरवाटर, फ्लोरिडाको पश्चिमी तटमा पर्ने सहर हो । जुन टाम्पा र सेन्ट पिटर्सबर्ग नजिकै पर्छ ।

फेरीले यात्रुहरूलाई क्लियरवाटरको डाउनटाउनबाट चर्चित समुद्री किनारतर्फ लाने गर्छ । यो दुर्घटना एक स्थानिय बालुवा मूर्ति महोत्सवको अन्तिम दिन भएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com