क्यानडामा प्रधानमन्त्री कार्नीको लिबरल पार्टी जित उन्मुख
प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

क्यानडाको संघीय चुनावमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टी विजयी उन्मुख भएको छ । क्यानाडेली ब्रडकास्टिङ कर्पोरेसन ले कार्नीको लिबरल पार्टी विजयी उन्मुख भएको जनाएको हो ।
क्यानडाली मिडियाहरूले लिबरल पार्टीले नयाँ सरकार गठन गर्न पर्याप्त सिट जित्ने प्रक्षेपण गरेका छन् । मतगणना जारी रहेकाले बहुमत सरकार बन्ने वा अल्पमत अझै पुष्टि गर्न बाँकी रहेको मिडियाहरुले जनाएका छन ।
लिबरल पार्टीले संसदका ३४३ मध्ये धेरैजसो सिट जित्ने प्रक्षेपण गरिएको थियो । स्पष्ट बहुमतका लागि १७२ सिट आवश्यक पर्दछ । कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको राजीनामापछि नेतृत्व लिएका थिए।
चुनावी जितसँगै क्यानडाली जनताले कार्नीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र ट्यारिफको सामना गर्न स्पष्ट जनादेश दिएका छन् ।
कार्नीले लिबरल पार्टीको लागि लगातार चौथो कार्यकाल सुनिश्चित गरेका छन् ।
जुन क्यानाडाली राजनीतिमा निकै दुर्लभ उपलब्धि मानिन्छ । उनले पिएर पोइलिभर नेतृत्वको कन्जर्भेटिभ पार्टीलाई पराजित गरेका छन् ।
यो जितले क्यानाडाली मतदाताहरूले ट्रम्प शैलीको पपुलिज्मलाई अस्वीकार गरेको देखाएको लिबरलहरूको दावी रहेको छ । सोमबार सम्पन्न चुनावमा लिबरल पार्टीको जितले नाटकीय मोड लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको अर्थतन्त्र र सार्वभौमिकतामाथि दिएका धम्कीहरूबाट उत्पन्न राष्ट्रिय भावना र प्रतिक्रिया पछि यो जित सम्भव भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई ५१औं राज्य बनाउने धम्की, व्यापार युद्धको चेतावनी, र सार्वभौमिकता माथिको टिप्पणीले क्यानाडालीहरूमा तीव्र राष्ट्रिय भावना पैदा गरेको छ ।
यसले लिबरल पार्टीलाई समर्थन बढाउने महत्वपूर्ण मोडको रूपमा काम गरेको देखिएको छ । सबैभन्दा धेरै सिट जित्ने पार्टीको नेता क्यानडामा प्रधानमन्त्री बन्ने संबैधानिक प्राबधान रहेको छ ।