न्यूयोर्कका विद्यालयहरुमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध
प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकाको न्यूयोर्कमा विद्यालय समयभरि मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
न्यूयोर्क राज्यका गभर्नर केथी होचुलले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक विद्यालयहरूमा विद्यालय समयभरि मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइने घोषणा गरेका हुन ।
गभर्नर होचुलले विगतमा चुरोट, मदिरा र मद्यपान गरेर गाडी चलाउने व्यवहारबाट हाम्रा बालबालिकालाई जोगाएको बताउदै अब बालबालिकालाई लत लाग्ने प्रविधिबाट जोगाउनु आवश्यक रहेको बताए ।
बालबालिकालाई यो तलबाट जोगाउन र नियन्त्रण गर्न डिजाइन गरिएको उनले बताएका हुन । डेमोक्र्याट नेतृ होचुलले प्रतिबन्ध कार्यान्वयन गर्ने ठोस योजना भने तत्काल सार्वजनिक गरेकी छैनन् ।
यद्यपि उनको कार्यालयले यसअघि विद्यालयहरूले आफ्नो स्थानीय आवश्यकता अनुसार मोबाइल संकलन तथा भण्डारणको तरिका अपनाउने स्वतन्त्रता पाउने बताएको थियो ।
केही विशेष अवस्थामा भने मोवाइल प्रयोगमा छुट दिइएको छ । स्वास्थ्य कारण , शैक्षिक अपाङ्गता, अङ्ग्रेजी भाषामा दक्षता नभएका विद्यार्थीहरूले मोबाइल प्रयोगको छुट दिइने बताइएको छ।
न्यूयोर्क अरु आठ राज्यहरूले जस्तै निर्णय गरेको हो । क्यालिफोर्निया, फ्लोरिडा, इन्डियाना, लुइजियाना, मिनेसोटा, ओहायो, दक्षिण क्यारोलिना र भर्जिनियाले विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध वा कडाइ गर्ने निर्णय यसअघि नै गरिसकेका छन ।
बेलदेखि बेलसम्म प्रतिबन्ध भनेको विद्यालयमा घण्टी बजेदेखि अर्को घण्टी बजुन्जेल, अर्थात् विद्यालय समयभरि मोबाइल फोन प्रयोगमा रोक लगाउनु हो ।
शिक्षकहरूको भनाइमा, यस्ता प्रतिबन्धले कक्षा, हल तथा खाना खाने बेलामा हुने ध्यानको विचलनलाई पूरै हटाउन सहयोग गर्छ ।
कतिपय अभिभावकहरूले आपतकालीन अवस्थामा बच्चासँग सम्पर्क गर्न नसकिने भन्दै यस्ता प्रतिबन्धको विरोध गर्दै आएका छन् ।
न्यूयोर्क सिटीमा देशकै सबैभन्दा ठूलो विद्यालय भएको जिल्ला पर्छ । त्यहाँ गत वर्ष अभिभावकहरूको विरोधकै कारण मोबाइल प्रतिबन्धसम्बन्धी छलफल स्थगित गरिएको थियो ।