स्पेन, पोर्चुगल र फ्रान्समा विद्युत् आपूर्ति अवरोधका कारण लाखौं प्रभावित
प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

स्पेन, पोर्चुगल र फ्रान्सका केही भागहरूमा भएको विद्युत् आपूर्ति अवरोधका कारण लाखौं मानिसहरू प्रभावित भएका छन् ।
यसले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । सार्वजनिक यातायात, व्यवसाय र आपतकालीन सेवामा समेत बाधा पुगेको छ ।
युरोपको ऊर्जा उद्योगको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख क्रिस्टियन रुबीले फ्रान्स र स्पेनबीचको विद्युत् इन्टरकनेक्सनमा समस्या आएको बताए ।
उनले भने, “स्पेनको ग्रिड युरोपको बाँकी ग्रिडबाट काटिएको थियो,” जसले ठूलो संकट निम्त्याएको हो। तर, उनले यो इन्टरकनेक्सनको समस्या मात्र पर्याप्त कारण नभएको र अन्य प्राविधिक समस्याहरू पनि रहेको बताए ।
विद्युत् बन्द हुँदा ट्रेनहरू रोकिएका, सडक बत्ती बन्द भएका, विमानस्थलहरूमा ढिलाइ भएको, पसल, घर र रेस्टुरेन्टहरू अँध्यारोमा पुगेका थिए। म्याड्रिडजस्ता शहरहरूमा मानिसहरू लिफ्टमा अड्किएका थिए ।
म्याड्रिडका बासिन्दालाई घरमै बस्न, सडकमा ननिस्कन र अत्यावश्यक नभए आपतकालीन सेवामा फोन नगर्न अनुरोध गरिएको थियो । स्पेनी ट्रान्सपोर्ट मन्त्री ओस्कार पुन्टेले बताएअनुसार बेलुकासम्म ११ वटा ट्रेन रोकिएका थिए।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज़ले बेलुकासम्म देशको ५० प्रतिशत भागमा विद्युत् पुन बहाल भइसकेको बताए । उता, पोर्चुगलको उर्जा कम्पनी ले ७.५ लाख ग्राहकहरूलाई पुन विद्युत् आपूर्ति गरिएको जानकारी दियो।
यद्यपि, दुबै देशले आपतकालीन अवस्था कायम राखेका छन् । स्पेनी मिडियाका अनुसार केही अस्पतालहरूले आपतकालीन योजना लागू गरेका छन् ।
नियमित काम रोकिएको छ। राजधानी म्याड्रिडमा मात्रै २८६ वटा भवनहरूमा मानिसहरू लिफ्टमा अड्किएका थिए जसलाई आपतकालीन सेवाले उद्धार गर्यो।
देशका सबै परमाणु ऊर्जा संयन्त्रहरू स्वतः बन्द भए । स्पेनी तेल कम्पनी ले आफ्ना रिफाइनरीहरू बन्द गर्यो।
रेल सेवाहरू प्रभावित हुँदा यात्रुहरू ट्रेनभित्र फसेका थिए। उडानहरू पनि प्रभावित भए। सोमबार बेलुका सम्म ९६ वटा पोर्चुगल र ४५ वटा स्पेनबाट प्रस्थान गर्ने उडानहरू रद्द भएका थिए ।
युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले साइबर आक्रमणको कुनै संकेत नभएको बताएका छन् । स्पेनी प्रधानमन्त्री सान्चेज़ले कारणको अनुसन्धान भइरहेको बताए ।
यस घटनाले स्पेन, पोर्चुगल, एन्डोरा र फ्रान्सका केही भागहरूलाई असर गरेको हो । तर बालेरिक टापु र क्यानारी टापुहरू भने प्रभावित भएका छैनन् ।