विश्वभर २० हजार रोजगारी कटौती गर्ने अमेरिकी कम्पनी युपिएसको घोषणा, कारण के ?
प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

विश्वव्यापीरूपमा अनलाइन सामान आपुर्तिको काम गर्ने विशाल अमेरिकी कम्पनी युपिएसले आफ्नो सबैभन्दा ठूलो ग्राहक अमेजनको व्यापारमा उल्लेखनीय गिरावट आएपछि सन् २०२५ मा विश्वभरका २० हजार दरबन्दी कटौती गर्ने योजना बनाएको जनाएको छ ।
युपिएसले सन् २०२५ मा करिब २० हजार परिचालन कार्यबल (रोजगारी) घटाउने र जून २०२५ को अन्त्यसम्ममा ७३ वटा लिज र स्वामित्वमा रहेका भवनहरु बन्द गर्ने योजना बनाइरहेको जानकारी गराएको हो ।
सन् २०२४ को अन्त्यसम्ममा करिब चार लाख ९० हजार कर्मचारी रहेको सामान ढुवानी कम्पनीले बदलिँदो व्यापार वातावरणको प्रतिक्रियास्वरूप आफ्नो सञ्चालनलाई ‘रिफ्रेगन’ गर्न कदम चालेको प्रमुख कार्यकारी क्यारोल टोमले बताए ।
“विशाल क्षेत्रमा वातावरण अनिश्चित हुन सक्छ, तर हाम्रो कामसँगै हामी अझ बलियो तर अधिक फुिर्तलो यूपीएसको रूपमा उदाउनेछौं,” टोमले भने ।
युपिएसको यो बर्षको पहिलो चार महिनाको नाफा १ दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव २ प्रतिशतले बढी हो भने आम्दानी ० दशमलव ७ प्रतिशतले घटेर २१ दशमलव ५ अर्ब डलरमा झरेको छ ।
जनवरीमा यूपीएसले सन् २०२६ को उत्तराद्र्धसम्ममा अमेजनको आयतन ५० प्रतिशतभन्दा बढीले घटाउने सम्झौता गरेको घोषणा गरेको थियो ।
टोमले भने, “कम्पनीको कार्यबल कटौतीले कम्पनीलाई यसका लागि लाभदायक नभएका कामहरू चरणबद्धरूपमा बन्द गर्न उत्प्रेरित गर्नेछ ।”
युपिएसले जनवरीमा गरेको पूर्वानुमानबाट एक कदम पछि हटेको छ र समष्टिगत आर्थिक अनिश्चिततालाई ध्यानमा राखेर तथ्याङ्क अद्यावधिक नगर्ने बताएको छ ।
युपिएसको शेयर मङ्गलबार अमेरिकी शेयर बजारको समय सुरू हुनुभन्दा पहिले एक प्रतिशतले बढेको थियो ।