क्यानडाका नवनिर्वाचित प्रधामन्त्री कार्नीलाई ट्रम्पले दिए बधाई


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीलाई बधाई दिएका छन । उनले निकट भविष्यमा भेटवार्ता हुने समेत बताएका छन ।

राष्ट्रपति ट्रम्पले क्यानडाको आम निर्वाचनमा विजयी भएका प्रधानमन्त्री मार्क कार्नीलाई टेलिफोन गरी बधाई दिएका हुन । साथै दुवै नेताबीच चाँडै भेटवार्ता गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

सोमबार सम्पन्न निर्वाचनपछि क्यानडा र अमेरिकाबीच नयाँ आर्थिक र सुरक्षासम्बन्धी सहकार्यका विषयमा वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।

ट्रम्पका व्यापार कर र बारम्बार क्यानडाको सार्वभौमिकतामाथि दिइएका विवादास्पद टिप्पणीहरूले निर्वाचनमा छायाँ पारेको थियो ।

सरकारी प्रसारकका अनुसार कार्नी नेतृत्वको लिबरल पार्टीले बहुमत नपुगेको भए पनि अल्पमत सरकार बनाउन सक्ने गरी सबैभन्दा बढी सिट जितेको अनुमान गरिएको छ ।

यो परिणामसँगै कार्नीका लागि अमेरिकी समकक्षीसँग वार्ता गर्नु र आन्तरिक मुद्दाहरू समाधान गर्नु थप चुनौतीपूर्ण बन्नेछ । किनकि उनलाई संसदमा अन्य दलहरूको समर्थन आवश्यक पर्नेछ ।

प्रधानमन्त्रीको कार्यालयले जनाए अनुसार निर्वाचनपछिको पहिलो कुराकानीमा ट्रम्पले कार्नीलाई बधाई दिँदै क्यानाडा र अमेरिका स्वतन्त्र, सार्वभौम राष्ट्रका रूपमा आपसी समृद्धिका लागि सहकार्य गर्नुपर्नेमा सहमति व्यक्त गरेका छन्।

लिबरल पार्टीले संसदमा विधेयक पारित गर्न अन्य दलहरूको सहयोग लिनुपर्नेछ । विश्वासको मतमा पराजित हुने खतरा पनि रहनेछ । हालको नतिजा अनुसार लिबरलले १७२ सिट आवश्यक बहुमतभन्दा ३ सिट कम अर्थात् १६९ सिट जितेको देखिएको छ ।

तर यो परिणाम लिबरल पार्टीका लागि उल्लेखनीय पुनरागमन हो । किनकि केही महिना अघिसम्म पार्टीको भविष्य संकटमा देखिएको थियो । पूर्व केन्द्रीय बैंक गभर्नर रहेका कार्नीले असन्तुष्ट नेता जस्टिन ट्रुडोको राजीनामापछि गत महिना प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका थिए ।

अमेरिकी ट्यारिफबाट प्रभावित कामदार र उद्योगका लागि सहयोगी विधेयक पारित गर्ने विषयमा लिबरल पार्टीलाई संसदमा सहज समर्थन मिल्ने देखिन्छ । किनकि सबै दलले चुनावी प्रचारमा यस विषयलाई समर्थन गरेका थिए।

ब्लोक क्यूबेक्वा पार्टीका नेता इभ्स–फ्रान्स्वा ब्लान्चेटले “क्यानाडाली जनताले अस्थिर समयमै राजनीतिक स्थिरता चाहेको स्पष्ट छ,” र अहिले सरकार फाल्ने समय नभएको बताएका छन् ।

तर उनले क्यूबेक प्रान्तको अधिकारमा हस्तक्षेप नगर्न कार्नीलाई चेतावनी पनि दिएका छन र भनेका छन सहकार्य दुईतर्फी हुनेछ ।

व्हाइट हाउसकी उप–प्रेस सचिव अन्ना केलीले कार्नीको जितले ट्रम्पको योजना “क्यानाडालाई अमेरिकाको ५१औं राज्य बनाउने” सोचमा कुनै असर नपार्ने दाबी गरेकी छन् ।

तर बिबिसी सँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्नीले “क्यानाडा अमेरिकी सम्मानको हकदार छ,” र क्यानाडा–अमेरिका साझेदारी “हामीले तय गरेका शर्तहरूमा मात्र हुनेछ।”

“५१औं राज्यको कुरा कहिल्यै सम्भव छैन,” कार्नीले स्पष्ट रूपमा भने।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com