बाइडेनले नियुक्त गरेका पदाधिकारीहरुलाई ट्रम्पले धमाधम हटाउदै
प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेले नियुक्त गरेका सदस्यहरूलाई होलोकास्ट मेमोरियल काउन्सिलबाट हटाएका छन् ।
यसमा बाइडेनका प्रमुख सहयोगीहरू जस्तै डग इम्हॉफ (कमला ह्यारिसका श्रीमान), रोन क्लेन (पूर्व प्रमुख कर्मचारी), टम पेरेज (पूर्व श्रम मन्त्री), सुसान राइस (पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार), र एन्थोनी बर्नल (जिल बाइडेनका सल्लाहकार) समावेश छन्।
अमेरिकाको होलोकास्ट मेमोरियल म्यूजियमको काउन्सिलका सदस्यहरूको नियुक्ति र बर्खास्तगीसँग सम्बन्धित पछिल्लो घटनाक्रमले अमेरिकी राजनीतिमा नयाँ विवाद समेत उत्पन्न गरेको छ ।
डग इम्हॉफले आफ्नो बर्खास्तगीलाई राजनीतिक कदमको रूपमा लिएका छन् । उनले होलोकास्ट सम्झना र शिक्षा राजनीतिकरण गर्नु खतरनाक भएको बताएका छन् ।
उनी यहूदी समुदायका सक्रिय सदस्य र एंटी सेमिटिजमविरुद्धको अभियानका अगुवा हुन् । उनले होलोकास्ट सम्झना र शिक्षा कहिल्यै राजनीतिकरण हुन नहुने बताएका छन ।
व्हाइट हाउसका प्रेस सचिव करोलिन लेभिटले ट्रम्पको उद्देश्य होलोकास्ट सम्झना र इजरायलको समर्थनमा दृढ रहेका नयाँ सदस्यहरूको नियुक्ति गर्नु रहेको बताइन् । यसले संस्थागत नेतृत्वमा व्यापक परिवर्तनको संकेत गरेको छ ।
पूर्व प्रतिनिधि डेविड सिसिलिनले यस कदमलाई निराशाजनकको रूपमा लिएको बताएका छन् । उनले यो कदम होलोकास्ट सम्झनालाई राजनीतिकरण गर्ने प्रयास हो भनेका छन ।
यसले घृणावादी र एंटी सेमिटिजमका विरुद्धको साझा प्रयासलाई कमजोर बनाउने उनले बताए । यो कदमले अमेरिकी राजनीतिमा संस्थागत स्वतन्त्रता र राजनीतिकरणको बीचको सन्तुलनमा नयाँ बहसको थालनी पनि गरेको छ।
सन् २०२१ मा होलोकास्ट मेमोरियल म्युजियमका प्रवक्ताले नयाँ प्रशासनद्वारा काउन्सिल सदस्यहरूको हटाउने कार्यलाई अभूतपूर्व कदमको रूपमा व्याख्या गरेका थिए ।
तर, हालैको घटनामा म्युजियमले निकै संयमित प्रतिक्रिया दिएको छ । बर्खास्तगीको प्रत्यक्ष रूपमा कुनै उल्लेख गरेको छैन ।
सार्वजनिक गरिएको वक्तव्यमा म्युजियमले व्हाइट हाउसप्रति सकारात्मक संकेत दिएको छ । यस प्रतिक्रियाले म्युजियमले वर्तमान राजनीतिक तनावको बीचमा पनि आफ्नो शिक्षामूलक र ऐतिहासिक मिशनलाई निरन्तरता दिने संकेत दिएको छ।