चिनियाँ परिवारबारे पाँच तथ्य
प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार
राष्ट्रपति सी जिनपिङ सत्तामा आएयता पाँचवर्षमा चीन झन् धनी र शक्तिशाली बनेको छ। तर त्यो वृद्धिले सामान्य चिनियाँ परिवारका लागि के अर्थ राख्ला?
चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ताहरु आगामी पाँच वर्षका लागि मुलुकको दिशा तय गर्न जम्मा हुन लागेका बेला हामीले चिनियाँ सरकारी निकाय र मुख्य सर्वेक्षणहरुबाट प्राप्त विवरणहरु हेरेका छौं जसबाट चिनियाँ परिवारहरुको जीवन र समाज कसरी परिवर्तन भइरहेको छ भन्ने संकेत पाइन्छ।
विवाह र सम्बन्ध विच्छेद
सन् २०१५ मा चीनले एउटा बच्चामात्रै जन्माउन पाउने नीति बदल्यो।
उक्त नीतिको उद्देश्य जनसंख्यालाई नियन्त्रित राख्नु थियो तर त्यसले पुरुष र महिलाबीचको संख्यामा डरलाग्दो खाडल उत्पन्न गरायो।
अब धेरै बच्चा र ठूला परिवारका लागि ढोका खुलेका बेला विवाह र सम्बन्ध विच्छेदको दर हेर्दा त्यो विकसित मुलुक सरहकै देखिन्छ।
अर्थात् विवाहको दर घटिरहेको छ र धेरै मानिसको सम्बन्ध विच्छेद भइरहेको छ।
सन् २०१३ देखि २०१६ को अवधिमा विवाहको दर १६ प्रतिशतले घट्यो भने त्यही दरमा सम्बन्ध विच्छेद बढ्यो।
‘बाँकी रहेका पुरुष’
चीनले एउटा बच्चामात्रै जन्माउन पाउने नीति सन् २०१५मा खारेज गरेपनि त्यसको प्रभाव आउने कैयौं वर्षसम्म रहनेछ।
३० वर्षभन्दा माथिका अविवाहित पुरुषका लागि चीनमा एउटा शब्द नै छ: शेन्गनान अर्थात् ‘बाँकी रहेका पुरुष’।
१५ देखि २४ वर्षको उमेर समूहमा प्रत्येक १ सय महिलाका लागि ११४ पुरुष छन्।
तत्कालका लागि अहिलेको लैंगिक असमानताले पुरुषहरुलाई श्रीमति पाउन गाह्रो हुनेछ।
बढी घर मालिक
सन् १९८०को दशकदेखि २००० सम्म जन्मिएका चिनियाँ नागरिकसँग त्यही उमेर समूहका अमेरिकी र युरोपेली नागरिकको तुलनामा बढी आफ्नै घर हुनेछ।
आफ्ना छोराहरुका लागि विवाह गर्न महिला आकर्षित गर्न धेरै चिनियाँ बाबुआमाले घरको व्यवस्था मिलाइदिने गरेको एचएसबीसीको तथ्याङ्कले देखाउँछ।
मानिसको संख्या जत्तिकै मोबाइल
चीनको औसत आम्दानी ग्रामीण र शहरी क्षेत्र दुवैमा बढिरहेको छ।
पछिल्लो एक दशकमा खानामा हुने खर्च तुलानात्मक रुपमा घटिरहेको छ भने स्वास्थ्य, कपडा र यातायातमा हुने खर्च बढेको छ।
आमसञ्चारमा पनि त्यस्तै छ।
मोबाइल फोनको संख्यामा भएको वृद्धिले पनि त्यो दर्शाउँछ।
प्रत्येक १०० जनामा ९७ जनासंग मोबाइल फोन रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाउँछ।
विदेशमा पढ्ने चिनियाँको संख्या बढ्दो
आम्दानी बढिरहेकाले धेरै आमाबाबुले आफ्नो सन्तानलाई पढ्नका लागि विदेश पढाउने चलन बढेको देखिन्छ।
त्यसमाथि पढेर उनीहरु फर्किपनि रहेका छन्।
सन् २०१६ मा ५ लाख ४० हजार विद्यार्थी विदेश पढ्न गएका थिए।
सोही वर्षकै तथ्याङ्क हेर्दा पढाइ सकेर फर्कने ४ लाख ३३ हजार देखिन्छ।