अमेरिकामा आप्रवासन नियन्त्रण कारबाहीले मासु उद्योग प्रभावित, मूल्य अझै बढ्ने जोखिम


प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार

तस्बिर:आइस

अमेरिकाको दक्षिण-पश्चिम कन्सास क्षेत्रमा आप्रवासन अधिकारीहरूले चलाएको व्यापक धरपकड र कारबाही अभियानका कारण स्थानीय मासु उद्योग प्रभावित भएको छ। धरपकडको डरले श्रमिकहरू काममा नआएपछि मासु प्रशोधन केन्द्रहरूको उत्पादन सुस्त हुनुका साथै चौपाया आपूर्ति प्रणाली नै ठप्प प्राय: बनेको छ।

कन्सासको लिबरल, डज सिटी र गार्डेन सिटी लगायतका साना शहरहरूमा आइस एजेन्टहरूले सडकमा सर्वसाधारण र सवारी चालकहरूलाई रोकेर नागरिकता सम्बन्धी सोधपुछ गरिरहेका छन्। ती क्षेत्रहरूमा अधिकांश जनसंख्या अफ्रिकी-अमेरिकन वा आप्रवासी मूलक समुदायको रहेको छ।

स्थानीय अधिकारी र समुदायका प्रतिनिधिहरूका अनुसार, कारबाहीको त्रासले गर्दा आप्रवासी श्रमिकहरू काममा जान सकेका छैनन्। जसका कारण ‘नेसनल बिफ प्याकिङ कम्पनी’ र ‘कारगिल’ जस्ता ठूला मासु प्रशोधन उद्योगहरूमा श्रमिकको ठूलो अभाव देखिएको छ।

दक्षिण-पश्चिम कन्सास क्षेत्र गाईभैंसीपालन, मासु प्रशोधन र दुग्ध उत्पादनको प्रमुख केन्द्र मानिन्छ। अमेरिकी कृषि मन्त्रालयका अनुसार कन्सासमा बिहीबार र शुक्रबार मासु प्रशोधन दर अघिल्लो साताको तुलनामा १४ देखि १६ प्रतिशतसम्म घटेको छ।

कन्सास लाइभस्टक एसोसिएसन लगायतका पशुपालक संघ-संस्थाहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “यो धरपकडले वैध र दक्ष श्रमिकहरूमा समेत ठूलो त्रास फैलाएको छ। आपूर्ति श्रृंखलामा आएको यस अवरोधले उपभोक्ताका लागि गाईभैंसीको मासुको मूल्य थप बढाउने निश्चित छ।”

अमेरिकामा पछिल्ला वर्षहरूमा खडेरी र आयातमा लागेको प्रतिबन्धका कारण मासुको मूल्य पहिले नै कीर्तिमानी विन्दुमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मासुको मूल्य नियन्त्रण गर्न विभिन्न नीतिहरू अघि सारे पनि पछिल्लो आप्रवासन नियन्त्रण कारबाहीले मूल्य अझै बढाउन सक्ने उद्योगी तथा युनियन अधिकारीहरूको भनाइ छ।

यसैबीच, अमेरिकी होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मन्त्री मार्कवेन मुलिनले भने प्रहरीले कार्यस्थल भित्रै छिरेर कारबाही नगरेको दाबी गर्दै गम्भीर अपराधमा संलग्न, निष्कासनको अन्तिम आदेश पाइसकेका र गैरकानुनी रूपमा बसेका व्यक्तिहरूलाई मात्र लक्षित गरिएको बताएका छन्।

तर, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले भने एजेन्टहरूले जात र वर्णका आधारमा मानिसहरूलाई ताकेको र विद्यालय तथा आवासीय क्षेत्र वरपर समेत गस्ती बढाएको आरोप लगाएका छन्। त्रासका कारण स्थानीय व्यापार व्यवसाय बन्द भएका छन् भने धेरै बालबालिकाहरू विद्यालय जान छाडेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com