असोज दोस्रो साता युवा सम्मेलन
प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार
विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा लगानी र उद्यमशीलताको विकास गराउने उद्देश्यले आगामी असोज १५ गतेबाट काठमाडौँमा नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले गैर आवासीय नेपाली सङ्घसँगको सहकार्यमा आयोजना गर्न लागेको सम्मेलन आगामी असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।
सम्मेलनका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विदेशमा रहेका नेपाली युवाले आर्जन गरेको रकमलाई नेपालको उद्यमशीलतामा लगानी गर्नु आवश्यक रहेको बताउँदै त्यसका लागि राज्यले उनीहरूको लगानीलाई सुनिश्चित गर्ने बताए ।
सम्मेलनमा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य, सामाजिक सुरक्षा, युवा सहभागिता, युवा विप्रेषण र लगानीलगायत बारेमा कार्यपत्र प्रस्तुत गरिने छ । नेपाली युवाको समग्र विकासको भावी मार्गचित्र तय गर्ने उद्देश्य लिइएको सम्मेलनपछि काठमाडौँ घोषणापत्र जारी गरिने उहाँले जानकारी दिए ।