न्यूयोर्कमा तमु समुदायले भव्य मनाए ल्होछार


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

पुस १९, न्यूयोर्क– गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाइएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले यस वर्ष चरा वर्ग अर्थात् च्हा ल्हो वर्गको विदाइ र कुकुर वर्ग अर्थात् खिल्हो वर्गको स्वागत गर्दै मनाएका हुन् ।

विशेष अतिथि जेष्ठ नागरिक ८० वर्षिया उमा गुरुङले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा ल्होछार २०१८ उद्घाटन गरिएपछि उहाँले सबैको सुस्वास्थ्य र शान्तिको लागि आशिर्वाद दिएकी थिइन् । ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै न्यूयोर्कका वाणिज्यदुत कृषु क्षेत्रीले, ल्होछार पर्वको शुभकामना दिंदै नेपालको विविध जातिय, भाषिक, साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारले मद्दत पुरयाएको भन्दै यस्ता साँस्कृतिक मौलिक परम्परालाई निरन्तरता दिन पर्ने बताए । उनले नेपालमा विभिन्न खालका समस्या पर्दा गुरुङ समाजले गरेको सहयोगको प्रशंसा गरे । यस्तै गुरुङ समाजका अध्यक्ष पदमबहादुर गुरुङले ल्होछारको शुभकामना दिदैं यस पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए ।

ल्होछार पर्वले तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले, तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गरे । कार्यक्रममा अध्यक्ष पदम र उपाध्यक्ष सिद्दार्थ गुरुङले वाणिज्यदूत कृषु क्षेत्रीलाई गुरुङहरुको मौलिक पहिरन भांग्रा र पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गरेका थिए। यसैबीच कार्यक्रममा, सन २०१५ मा नेपालमा गएको भुकम्पपछि गुरुङ समाजले संकलन गरेको रकमबाट नेपालको ४ वटा जिल्लामा पुननिर्माण अन्तगर्त भइरहेको परियोजनाको बारेमा जानकारी गराइएको थियो । समाजले दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँगको सहकार्यमा दुर्इ वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माणको काम पूरा गरेको छ । अरु ३ जिल्लामा चन्द्र गुरुङ संरक्षण कोषसँगको सहकार्यमा गोरखाको गुम्दा गाउपालिकामा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांणको काम, जागरण मिडिया सेन्टरसँगको सहकार्यमा सिन्धुपाल्चोकको सिपापोखरे गाउपालिकामा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माणको काम, र सगुनसँगको सहकार्यमा काभ्रेपलाञ्चोकको खार्पाचोक गाउपालिकामा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम काम भइरहेको जानकारी दिएको छ ।

कार्यक्रम संयोजक प्रकाश गुरुङले ल्होछारको शुभकामना दिदै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै  कलाकार, भोलेन्टियर र उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रममा युनाइटेड शेर्पा एशोसिएसनका अध्यक्ष उर्गेन शेर्पा, युएस क्लाइम्बर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पा, अधिकारका एडभोकेसी निर्देशक नर्वदा क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष हान्ता थोकर, युनाइटेड किरात राई अर्गनाइजेसनका केशवराम राई, एनआएएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, घ्याल्सुम्दो सेवा समाजका अध्यक्ष छिरिङ राप्के, ह्योल्मो सोसाइटी अफ अमेकिाका अध्यक्ष दावा शेर्पा, किरात राई सोसाइटी अफ अमेरिकाका मणि वाङदेल, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपेश लिम्बु, मगर संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन, मनाङ सोसाइटी अफ अमेकिाका अध्यक्ष जयवीर गुरुङ, मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्ट, नेवा गुठीका प्रतिनिधी, फेडेरल सोसाइटीका अध्यक्ष समिर मजर्हन, कलाकार संघका अध्यक्ष सुमन बुढामगर लगायत अतिथिका रुपमा सहभागी थिए ।

साँझ ८ बजेदेखि बिहान २ बजेसम्म चलेको कार्यक्रममा ५० भन्दाबढी स्थानिय कलाकारहरुले विभिन्न मौलिक, साँस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा गुरुङहरुको मौलिक, साँस्कृतिक, परम्परागत नृत्यहरु पच्यु, घ्याब्री, र छयाडु, कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । पच्यु नृत्य खासगरी पच्युहरुले विभिन्न संस्कारहरु सम्पन्न गर्ने गरिन्छ । गुरुङहरुले शुभ कर्म, विवाह भोज, पूजाआजा, मरौ, दुख पर्दा पच्युहरुले विधिपूर्वक संस्कार गर्ने चलन छ । त्यस्तै, घ्याब्री नृत्य खासगरी थासो फाल्ने र नराम्रो पन्छाउने र ग्रहशान्ति गर्ने र शुद्ध गर्नका लागि यो नृत्य गर्ने गरिन्छ । यो घ्याब्री नृत्य खासगरी शुभ कार्यहरु गर्नुपूर्व मन्छाउने गरिन्छ । त्यस्तै, छ्याडु नृत्य खासगरी कसैको घरमा मरौ पर्दा, दुख परेको बेलामा अर्घौ गर्ने गरिन्छ । अर्घौ खासगरी ३ दिनसम्म गर्ने गरिन्छ । मृतआत्माको स्वर्गबास होस र शोकाकुल परिवारको मनोबल बडाउनको लागि अर्घौको दोश्रो दिनमा घ्याब्री नृत्य गरिने चलन छ । कार्यक्रममा आमा समूहको टोलीले कममरमाथि पटुकी गीतको बोलमा नृत्य प्रस्तुत गर्दा हलका सबै दर्शकले वान्स मोर वान्स मोर भनेर तालि पिटेका थिए । त्यस्तै, गुरुङ भाषाको विभिन्न गीत मौलिक गीत कौडा र चर्चित गीतहरु कुटुमा कुटु, आज मेरो गाई हेर्ने पालो, चरी जस्तै उड्न पाए।। जस्ता गीतमा कलाकारहरुले बेजोडको प्रस्तुति दिएका थिए । कार्यक्रम शुरुदेखि नै हलमा खचाखच दर्शकलाई उद्घोषकद्वय मच्छे गुरुङ र विजय गुरुङको प्रस्तुतिले अन्त्यसम्म अड्याउन सफल भएको थियो । कार्यक्रममा, समाजलाई सहयोग गर्ने र विशेष योगदान पुरयाउने बिष्णु पुन मगर र रोशनी गुरुङलाई स्पेशल रिकग्निसन प्रमाणपत्रले सम्मान गरेका थिए । त्यस्तै, यस बर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाणपत्र र ब्याजले सम्मान गरेका थिए । गुरुङहरुको मौलिक पोशाकलाई प्रोत्साहन गर्न उत्कृष्ट पोशाकको पुरस्कार १२ बर्षभन्दा कम उमेरका २ जना बालबालिका र एक, एक जना महिला र पुरुषलाई प्रदान गरिएको थियो । १२ वर्षभन्दा कम उमेरको बालकतर्फ देवन गुरुङ र बालिका तर्फ रक्षा गुरुङले पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, महिलामा सोनी गुरुङ र पुरुषमा लिलबहादुर गुरुङले उत्कृष्ट पोशाकको पुरस्कार हात पारेका थिए । त्यस्तै, राफल टिकेट पुरस्कारमा पहिलो हुनेले ल्यापटप, दोश्रो हुने एप्पल घडी र तेस्रो हुनेले एप्पलकै मिनी आइप्याड प्राप्त गरेका थिए । हिउँ परेर मौसम प्रतिकुल भए पनि ६ सयको हाराहारीमा उपस्थितमध्ये तमु समुदायका सबै महिला तथा पुरुषहरु आफनो मौलिक पोशाकमा सजिएर आएका थिए । कार्यक्रममा कलाकार तथा नृत्य निर्देशकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा मैरिमो चलचित्रका निर्देशक तथा नायक प्रेम गुरुङको नयाँ गीतको सिडी पनि विमोचन गरिएको थियो ।,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com