चितवनमा ९५ महिलाले गराए, पाठेघरको निःशुल्क परीक्षण
प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

पुस २४, रत्ननगर– चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघर निःशुल्क परीक्षण गरिएको छ।
वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको हो। शिविर सोमबार पनि जारी छ।
नगरपालिकाको साविक वडा नम्बर ७ मा ४३ र साविक वडा नम्बर ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिइन्।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको लामाले जनाइन्।
वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई गाउँमै स्वास्थ्य शिविर सञ्चालन हुँदा सजिलो भएको बताए। रासस