‘जलिरहेको पानीजहाज विस्फोट हुने खतरा’


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

पूर्वी चीन सागरमा एउटा मालवाहक पानीजहाजसँग इन्धन बोकेको एउटा विशाल पानीजहाज ठोक्किएको दुई दिन पुग्दा तेलको चुहावटका कारण वातावरणीय विपद् निम्तिएको आशंका बढ्दै गएको छ।

झण्डै १० लाख ब्यारल तेल लिएर सान्ची नामक उक्त इरानी पानीजहाज दक्षिण कोरियातर्फ गइरहेको थियो।

चालक दलका सदस्यसहित ३२ जनाको खोजी कार्य खराब मौसम र कालो धुवाँको मुस्लोका कारण प्रभावित भइरहेको छ।

हराइरहेकामध्ये ३० जना इरानी र दुईजना बांग्लादेशी रहेको जनाइएको छ।

खतरनाक

शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो।

अहिलेसम्म चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भइसकेको छैन।

तर सोमबार बिहानसम्म पनि उक्त पानीजहाजमा आगालागी भइरहेको जनाइएको छ।

आगो

‘कण्डेन्सेट’ भनिने एक प्रकारको कच्चा तेल उक्त पानीजहाजले बोकेको र त्यसको चुहावट नियमित कच्चा इन्धनभन्दा वातावरणका लागि खतरनाक हुने बताइएको छ।

सांघाईबाट बीबीसीका रोबीन ब्रान्ट भन्छन्, उद्धार तथा खोजी कार्य जारी रहँदा ठूलो वातावरणीय चिन्ताहरू व्यक्त भइरहेका छन्।

उद्धार

यो सन् १९९१ यताकै सबैभन्दा खराब यस्तो प्रकृतिको दुर्घटना हुन सक्ने ठानिएको छ।

इन्धन बोकेको उक्त पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ।

चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ र दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकोप्टर परिचालन गरेको छ।

अमेरिकी जलसेनाले उद्धार कार्यमा मद्दत गर्न एउटा सैनिक हेलिकोप्टर पठाएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com