के भारत र पाकिस्तान लडाइँकै तयारीमा छन्?


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

खगेन्द्र गिरी

गत १८ सेप्टेम्बरमा भारतको उरीस्थित एक सैन्य ब्यारेकमा भएको आक्रमणमा १९ भारतीय सैनिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको बदला लिइने बताएका थिए। त्यही बदलास्वरूप भारतले २९ सेप्टेम्बरमा पाकिस्तानभित्र पसेर आतंकवादी विरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गर्‍यो। तर पाकिस्तानले आफ्नो सीमानाको रक्षा गर्न आफू सक्षम रहेको भन्दै भारतीय दाबी हावादारी भएको जनायो। सँगसँगै गोलीबारीमा आफ्ना दुई सैनिक मारिएकोमा भारतको भर्त्सना गर्‍यो।

दुवै देशले स्वीकार गर्नुपर्ने तथ्य के हो भने भारतको टाउको दुखाइ बनेको छ कश्मिर र पाकिस्तानको आतंकवाद भारतले गरेको भनिएको ‘सर्जिकल स्ट्राइक’पछि दुई देशको राजनीतिक, कुटनीतिक र साँस्कृतिक सम्बन्ध फेरि कचल्टियो। युद्धोन्मादमा जर्नेलहरूले आणविक हतियार प्रयोग गर्न सकिने सम्भावना दर्शाए। एक देशका कलाकार र फिल्मलाई अर्को देशमा प्रतिबन्ध लगाउने काम भयो र जनस्तरमै सामाजिक सञ्जालमा ह्यासट्याग ‘मोदी–पनिसेस–पाक’ ट्रेन्ड भयो। अझ भारतीय सञ्चारमाध्यमको प्रत्यक्ष प्रभाव क्षेत्रमा रहेका नेपालीलाई त वास्तविक युद्ध नै सुरु भएको महसुस गर्न धेरै समय लागेन। सार्क सम्मेलन स्थगित भयो। भारत पछिपछि भुटान, बंगलादेश र अफगानिस्तानले सार्क शिखर सम्मलेनमा सहभागी हुन नसक्ने जनाए। दुई देशबीचको तनावले एक किसिमले क्षेत्रीय अस्थिरता निम्त्यायो।

तर के प्रचार गरिएजस्तै भारत र पाकिस्तानबीच युद्ध भइहाल्ने अवस्था छ? के दुवै देशका शासक आफ्नो क्षति र चुकाउनु पर्ने मूल्यको हिसाबै नगरी भिड्ने मनस्थितिमा छन्? यी कुराहरूको जवाफमा पुग्न हामीले भारतले गरेको भनिएको सर्जिकल अपरेसनको प्रकृति अध्ययन गर्नुपर्ने हुन्छ।

सर्जिकल स्ट्राइकको यथार्थ

भारतमा सर्जिकल स्ट्राइकको चर्चा जसरी गरिएको छ, बाहिरी दुनियाँमा त्यसको चर्चा बेग्लै छ। पहिलो कुरा– भारतीय सेनाले आफ्नो आक्रमण पाकिस्तानतिर होइन, आतंकवाद लक्षित रहेकोमा जोड दिएको छ। यो वास्तविक लडाइँको उद्देश्यले अभिप्रेरित थिएन भन्ने कुराको अर्को प्रमाण के हो भने सैन्य कारवाहीका महानिर्देशक लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आफ्ना पाकिस्तानी समकक्षीलाई सो आक्रमणबारे जानकारी गराएका थिए। त्यति मात्र होइन, मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसलाई सर्जिकल स्ट्राइकको योजनाबारे पहिले नै जानकारी दिदैँ त्यसभन्दा अर्को कदम भारतले नसोचेको जनाएका थिए। फरेन पोलिसी रिसर्च इन्स्टिच्युट फिलाडेल्फियाका सुमित गांगुली लेख्छन्, ‘भारतको कार्वाही सीमित क्षेत्र, हतियार र अवधिमा भएको थियो। यसको उद्देश्य नितान्त प्रदर्शनात्मक थियो।’

जम्मु काश्मिरमा गोली लागेको घर

मूलधारको भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई आधार मान्ने हो भने भारतभित्रको जनमत पाकिस्तानविरुद्ध युद्धको पक्षमा जस्तो देखिन्छ। राजनीतिक रूपमा अतिराष्ट्रवादीहरूले यसको फाइदा लिइराखेका छन्। भारतमा मोदीको नेतृत्वमा निर्मित अहिलेको समाजमा युद्ध विरोधी वातावरण पनि छैन। तर तत्काल भइहाल्ने युद्धले भारतलाई नै पनि फाइदा गर्ने छैन। १९७१ पछि दक्षिण एसियामा भारतले हासिल गरेको व्यवस्थापकीय हैसियतलाई तत्काल हुने युद्धले खतरा मात्रै पुर्‍याउँछ। त्यसमाथि भारत र पाकिस्तानबीचको युद्धमा अन्तर्राष्ट्रिय स्वार्थ समूहहरूको प्रत्यक्ष–अप्रत्यक्ष भीडन्त स्वाभाविक रूपमा निम्तिनेछ, जसको नाफाघाटाको लेखाजोखा दुवै देशका अधिकारीहरूले गरिसकेका छन्।

असंलग्न राष्ट्रहरूको आन्दोलनको नेतृत्व गरिरहेको भारत अमेरिकी खेमामा खुलेर लाग्नु, देशभित्र धार्मिक र सांस्कृतिक चरमपन्थको प्रभाव अधिक हुनु र १९६० यता पहिलो पटक जलसम्झौतामाथि प्रश्न उठ्नुले मोदी आक्रामक मुडमा देखिन्छन्, तर त्यसको परिणामलाई आफूतिर ढल्काउन नेहरूजस्तै असफल हुन सक्ने सम्भावना ज्यादा देखिन्छ।

भारत–पाकिस्तान युद्धले आर्थिक रूपमा माथिल्लो सैन्य पंक्ति, हतियार र बन्दोबस्तीका सामान व्यापारीबाहेक अरु कसैलाई फाइदा पुग्ने छैन। भारतलाई ‘आधुनिक’ बनाउने मोदी सपना होस् वा पाकिस्तानको चीनलगायत राष्ट्रका लगानी, सबै धरापमा पर्नेछ। यही दबावका कारण पनि तत्काल ठूलो स्तरको युद्ध यी दुई देशबीच सम्भव देखिदैन। त्यसबाहेक यी दुई देशको अहिलेको तयारीलाई हेर्दा १५ वा २० दिनभन्दा बढी नियमित लडाइँलाई धान्ने दुवै देशको क्षमता नरहेको विश्लेषकहरू बताउँछन्। युद्धको हल्ला मात्रैले भारत र पाकिस्तानबीच रहेको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धमाथि जुन घातक तुवाँलो छाएको छ, यसलाई सङ्ल्याउन भने समय लाग्ने देखिन्छ।

यस्तो छ भारत–पाक युद्ध इतिहास

१९४७
दक्षिण एसियामा भारत–पाकिस्तानबीचको दुश्मनी आजको विषय होइन। भारत–पाकिस्तानको विभाजनमा लाखौँ मानिसको मृत्यु भएको थियो। भारतीय क्षेत्रमा रहेका लाखौँ मुस्लिम पाकिस्तानतिर बसाइँ सरेका थिए भने पाकिस्तानको क्षेत्रमा रहेका सिख र हिन्दु भारततिर सरेका थिए। बेलायतले तयार पारेको विभाजनको खाकाअनुसार भारतभर रहेका ६८० रजौटाहरू पनि विभाजनसँगै स्वतन्त्र भएका थिए। उनीहरूलाई आफ्नो इच्छाअनुसार भारत वा पाकिस्तानसँग गाभिने अथवा स्वतन्त्र बस्ने सुविधा दिइएको थियो। त्यसैले ती राज्यमध्ये बहुसंख्यक मुस्लिम राज्य पाकिस्तानमा मिसिए भने बहुसंख्यक हिन्दु राज्य भारतमा।

ती रजौटामध्ये दुई ओटाले भने स्वतन्त्र बस्ने इच्छा जनाए। हैदरावादको निजाम र कश्मिर। कश्मिरका राजा हरि सिंह, जो नेपाली राजा त्रिभुवनमा भिनाजु थिए, हिन्दु थिए तर कश्मिरको बहुसंख्या मुस्लिमहरूको थियो। सानो संख्यामा रहेका हिन्दुहरू ठूलो संख्याका मुस्लिमहरूको शासक बन्नाले असन्तुष्टि फैलिँदै गयो। राजा हरि सिंहका सेनाले जम्मु र कश्मिरमा हजारौँ मुस्लिमहरूको कत्लेआम गर्न थाल्यो। मुस्लिमहरूले राजाविरुद्ध विद्रोह थाले। विद्रोहलाई सघाउने भन्दै पाकिस्तानको अर्धसैन्य बलको सहयोगमा अक्टोबर १९४७ मा पस्तुन मसुद नामक मुस्लिम संगठनले कश्मिरमाथि आक्रमण ग¥यो। आक्रमणबाट अत्तालिएका राजा हरि सिंहले २६ अक्टोबर १९४७ मा काश्मिरलाई भारतमा गाभेको कागजमा सही गरे।

त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले कश्मिर पुग्ने सोझो बाटो नभएको हुदाँ विमानबाट आफ्नो फौज श्रीनगर उतारे। हप्तौँसम्म दुई देशबीच लडाईं भएपछि पाकिस्तानी फौज केही पछि हट्यो। त्यही समयमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भयो। सो युद्धविरामको समयमा जुन देशको फौज जहाँ थियो, त्यहीँ नै सीमा कोरियो, जसलाई लाइन अफ कन्ट्रोल भन्ने गरिन्छ। जसलाई १९७२ को सिमला सम्झौताअनुरूप केही मात्रामा हेरफेर गरियो। कश्मिर त्यसयता भारत–पाकिस्तान विवादको मुख्य केन्द्र बन्दै आएको छ।

१९६५

१९६५ मा भारत पाकिस्तान युद्ध पाँच हप्ता चलेको थियो। दुवै पक्षका हजारौँको ज्यान गएको थियो । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भएपछि अन्तर्राष्ट्रिय दबाबबीच सोभियत संघका प्रधानमन्त्री अलेक्सेई कोसिगिनको सहजीकरणमा तासकन्द सम्झौतापछि विवाद समाधान भएको थियो। तासकन्द घोषणामा हस्ताक्षर गरेकै रात भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्यु भयो, जसलाई धेरैले रहस्यमयी घटना माने। पछि सो सम्झौताको भारतभित्रै आलोचना पनि भयो।

१९७१
भारत–पाकिस्तानबीच अर्को युद्ध सन् १९७१ मा भयो। १४ दिनको सो युद्धपछि बंगलादेश पाकिस्तानबाट टुक्रिएको थियो। स्वतन्त्रतापछि नै पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तानबीच राजनीतिक विवाद कायम थियो। पूर्वी पाकिस्तानमा बंगाली भाषी मानिस थिए, उनीहरूको जनसंख्या धेरै थियो। त्यसैले १९७० को आम निर्वाचनमा अवामी लिग पार्टीले पाकिस्तानको ३१३ मध्ये १६७ सिटमा जित हात पा¥यो। संसदमा बहुमत आएपछि अवामी लिगका नेता शेख मुजिबुर रहमानले सरकार बनाउन खोजे। तर उनलाई पाकिस्तान पिपल्स पार्टी तथा त्यसका नेता जुल्फिकर अलि भुट्टोले सरकार बनाउन दिएनन्। लगत्तै पूर्वी पाकिस्तानमा विरोध सुरु भयो र राष्ट्रपति याया खानले त्यहाँ सैनिक शासन लागू गरे। मुजिबुर रहमानलाई पक्राउ गरियो र विद्रोहीहरूले आफ्नै सरकार गठन गरे। हिंसा भड्किएपछि लाखौँ मानिस पूर्वी पाकिस्तान छोडेर भारतको विभिन्न क्षेत्रमा प्रवेश गरे। भारतले संयुक्त राष्ट्रसंघको माध्यमबाट शरणार्थी समस्या हल गर्न आग्रह गर्‍यो। भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले विद्रोही सरकारलाई समर्थन गरिन्।

३ डिसेम्बर १९७१ को साँझमा पाकिस्तानी वायु सेनाले भारतमाथि आक्रमण गर्‍यो। त्यसैलाई युद्धको घोषणा मानियो र युद्ध सुरु भयो। र १४ दिनपछि १६ डिसेम्बर १९७१ मा पूर्वी पाकिस्तानको सेनाले भारतसामु आत्मसमर्पण गर्‍यो। ५४ हजार सैनिक सहित झण्डै ९० हजारलाई भारतले युद्धबन्दी बनायो। जसलाई १९७२ को सिमला सम्झौतापछि मात्रै मुक्त गरियो। शेख मुजिबुर रहमान पाकिस्तानी कब्जाबाट मुक्त भए र बंगलादेशको राष्ट्रपति बने।

१९७१ को लडाईंमा हात पारेको जितका कारण दक्षिण एसियामा भारतको प्रभाव ह्वात्तै बढ्यो। यसबेलासम्ममा यो क्षेत्रमा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन पनि बदलिएको थियो। सन् १९६२ को भारत–चीन युद्धताकासम्म भारत अमेरिकी छत्रछाँयामा थियो। अमेरिकी समर्थनमा नै नेहरू दक्षिण एसियाका विद्वान र शक्तिशाली नेताको रूपमा गनिन्थे। झनै असंलग्न राष्ट्रहरूको संगठनमा नेतृत्वदायी भूमिका खेलेपछि उनको चुरीफुरी बढेको मानिन्थ्यो। भारतमै वामपन्थीहरूले उनलाई पूँजीपतिहरूको ‘नटखट लाडला’ उपनाम दिएका थिए।

चीनसँगको कूटनीतिक सम्बन्धमा पनि नेहरूको रुखो व्यवहारको असर पर्‍यो। उनले चीनबाट लखेटिएका दलाई लामालाई शरण मात्र दिएका थिएनन्, अमेरिकी हतियार र भारतीय सैनिकको बलमा तिब्बतलाई चीनबाट स्वतन्त्र गर्ने सपना पनि देख्न थालेका थिए। उनले विवादित म्याकमोहन लाइनभन्दा उत्तरसम्म सीमा चौकी स्थापना गरेका थिए। सीमा विवाद चर्किएपछि १९६२ मा चीनले भारतमाथि आक्रमण गर्‍यो र भारत बेइज्जतीपूर्वक लडाईं हार्न पुग्यो। लडाईंमा आफ्नो हार हुदैँ गएपछि नेहरूले तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई १२ स्क्वाड्रन आधुनिक फाइटर जेट माग्दै चिठी लेखेका थिए। अमेरिका क्युबाको मिसाइल संकटमा फसेको बेला उसले नेहरूको चिठीलाई बेवास्ता गरिदियो। लडाइँपछि नेहरू रोगिए र चाँडै नै उनको मृत्यु भयो। त्यसबेलासम्मको अमेरिकी समर्थनले आफ्नो हार नटरेको देखेपछि बल्ल भारतले सैनिक सुदृढीकरण सुरु ग¥यो र बिस्तारै सोभियत पक्षमा लाग्यो। १९७१ को लडाइँ अगाडि प्रधानमन्त्री इन्दिरा गान्धी मस्को पुगेर सोभियत संघसँग २० वर्षे सैनिक सम्झौता गरेकी थिइन्।

१९९९

सन् १९९९ को कारगिल युद्ध भारत–पाकिस्तानबीचको अर्को लडाइँ थियो। यद्यपि यो १९७१ को जस्तो खुला र पूर्ण युद्ध नभई छद्म युद्ध थियो। १९७२ पछि भारत–पाकिस्तान सीमा तुलनात्मक रूपमा शान्त थियो। तर आतंकवादी संगठन मुजाहिद्धिनले कश्मिरमा गतिविधि बढाएपछि त्यसको दोष भारतले पाकिस्तानलाई दियो, जसरी अहिले उरी हमला वा पठानकोट हमलामा उसले पाकिस्तानमाथि आरोप लगाइरहेको छ। ३ मेदेखि नै यस्तो विवाद सुरु भएपनि भारतीय वायु सेनाले २६ मे देखि हवाइ आक्रमण ग¥यो। दुवैतिरबाट गोलाबारी र हवाई आक्रमण भए। २६ जुलाईमा युद्धको अन्त्य भयो।

त्यसयता २००१ को भारतीय संसदको हमला, २००८ को मुम्बई हमला आदिमा भारत पाकिस्तानको सम्बन्ध अफ्ठ्यारोमा परेको देखिन्छ। भारतले आफ्नो देशमा भएको सम्पूर्ण आतंकवादी हमलाको दोष पाकिस्तानको टाउकोमा थोपर्ने गर्दै आएको छ। यसबाट भारत बेलाबखत आफ्नो सुरक्षा कमजोरीलाई भने लुकाउन सफल हुने गर्छ। कश्मिरबारे आफूमाथि लगाइँदै आएको आरोपलाई पाकिस्तानले जहिल्यै खण्डन गर्ने गरेको छ। उसले कश्मिरमा भारतीय फौजले गरेका ज्यादतीका घटनालाई ढाकछोप गर्न आफूमाथि आरोप लगाइने उसको तर्क छ।

पानीको रडाको

सन् १९६० मा भारत र पाकिस्तानबीच व्यास, रावी र सतलज नदीको प्रयोग भारतले तथा सिन्धु, चेनब र झेलम नदी पाकिस्तानले प्रयोग गर्ने सम्झौता भएको थियो। त्यसलाई ‘सिन्धु जल सम्झौता’ भनेर चिनिन्छ। यो सम्झौताको मध्यस्थता विश्व बैंकले गरेको थियो र शीतयुद्धको समयमा दुई राष्ट्र यस्तो सम्झौतामा पुगेकोमा तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनहावरले सो सन्धिलाई ‘निराशाजनक विश्व मानचित्रमा उज्यालो स्थान’ भनेर व्याख्या गरेका थिए। भारत हुँदै पाकिस्तान पस्ने सिन्धु, चेनब र झेलम पाकिस्तानको पानीको मुख्य स्रोत हुन्। सम्झौतापछि पानीको विषयमा भारत–पाकिस्तानबीच ठूलो विवाद भएको थिएन। तर गत साता भारतले सो सम्झौता रद्ध गर्ने धम्की दिएपछि पानीमाथिको युद्ध पुनः सतहमा आएको छ।

भारत पाकिस्तान सेना सीमानामा सांस्कृतिक आदानप्रदान गर्दै

यसैबीच तिब्बत हुँदै भारत पस्ने ब्रम्हपुत्र नदीको एक शाखा चीनले आफूतिर मोडेको समाचार आएको छ। भारत र चीनबीच नदीबारे कुनै सम्झौता नभए पनि यसले भारत अत्तालिएको छ। जलविद्युतका लागि सो नदी प्रयोग गर्ने चीनको पुरानो योजना भए पनि भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता रद्ध गर्ने धम्की दिएकै बेला चीनले नदी फर्काउनुलाई भारतमाथि चीनको दबाबको रूपमा हेरिएको छ। भारत–पाकिस्तानबीच भएको सिन्धु जल सम्झौतामध्येका केही नदी तिब्बत हुँदै भारत प्रवेश गर्दछ।

भारत र पाकिस्तानको टाउको दुखाइ र समाधान

कश्मिर र आतंकवादको विषयका कारण भारत र पाकिस्तान पटकपटक युद्धको नजिक पुग्ने गरेका छन्। यी दुई विषयलाई लिएर दुवै देशले स्वीकार गर्नुपर्ने तथ्य के हो भने भारतको टाउको दुखाइ बनेको छ कश्मिर र पाकिस्तानको आतंकवाद। स्वतन्त्रताको ७० वर्ष बितिसक्दा पनि भारतलाई आफ्नो देश स्वीकार गर्न नसकेका कश्मिरी जनताले अब पनि चाँडै भारतलाई आफ्नो मातृभूमि मानिहाल्ने विश्वास गर्न सकिन्न। कश्मिर हिजो पनि भारतको थियो, आज पनि हो र भोलि पनि हुनेछ भन्दै त्यहीँका मानिसमाथि पेलेट गनबाट गोली बर्साएर र टेलिभिजनबाट पाकिस्तानको खोइरो खनेर मात्रै समस्याको समाधान हुँदैन। त्यसैले कश्मिर समस्याको वैकल्पिक समाधान खोज्नु भारतको हितमा छ।

त्यसैगरी पाकिस्तानले नीतिगत रूपमा नभए पनि पटकपटकका घटनाका कारण आतंकवादीहरूको आश्रयस्थल रहँदै आएको आरोप खेप्नु परेको छ। भ्रष्ट नेता र सैन्य अधिकारीहरूले विभिन्न स्वार्थमा आतंकवादप्रति सहानुभूति राख्नु स्वयं पाकिस्तानको फाइदामा नरहेको देखिइसकेको छ। यही वर्ष मात्रै पाकिस्तानमा दर्जनौँ विस्फोट र सैयौँको मृत्यु भइसकेको छ, यसले पाकिस्तानी अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ। त्यसैले आतंकवादसँग आफ्ना देशको साइनो कटाउन पाकिस्तान तयार हुनैपर्ने देखिन्छ।  नेपालखवर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com