कोलम्बियालीले किन अस्वीकार गरे शान्ति सम्झौता
प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार
करिब आधा प्रतिशतभन्दा बढी कोलम्बियालीले कोलम्बियामा केही महिनाअघि भएको शान्ति सम्झौता अस्वीकार गरेका छन् । स्वीकार गरिएको हुन्थ्यो भने ५२ वर्ष लामो गृहयुद्धको औपचारिक अन्त्य हुन्थ्यो र सात हजार फार्क गुरिल्ला राष्ट्रको जीवन र राजनीतिमा समायोजित हुन पाउँथे । यो मतसहित कोलम्बियालीहरूले देशको अथाह भौगोलिक तथा राजनीतिक विभाजन मात्र उजागर गरेका छैनन्, कोलम्बियालाई एकपटक फेरि अन्योलमा धकेलेका छन् ।
राष्ट्रपति जुआन म्यानुएल सान्तोसले मतदातासामु प्रस्तुत गरेको ऐतिहासिक अवसर राजनीतिक दुस्वप्नमा बदलिएको छ । यो सहमतिको बाराक ओबामादेखि पोप फ्रान्सिससम्मले स्वागत गरेका थिए । यद्यपि, कोलम्बियाका रुढिवादी चर्च नेताहरूले भने मौनता साँधेका थिए । सम्झौताका पक्षमा सुविधाजनक मत आउँछ भन्ने लागेर होला सरकारसँग वैकल्पिक योजना थिएन ।
त्यसो भए किन झिनो बहुमतका कोलम्बियालीले अढाइ लाखको ज्यान लिएको र ६० लाख विस्थापित गरेको युद्ध बैठान गर्ने सहमतिको विरुद्ध मत दिए त ? किन शान्तिको प्रस्ताव र यसबाट प्राप्त हुन सक्ने लगानी र समृद्धिलाई अस्वीकार गरे ?
कोलम्बियाको दीर्घ हिंसा र यसले थला पारेको राजनीतिले यसको पुष्टि गर्छ । राष्ट्रपति सान्तोस व्यक्तिगत रूपमा त्यति लोकप्रिय छैनन् । आफू र फार्क कमान्डर तिमोछेन्कोलाई सहमतिको केन्द्रमा राखेर उनले काफी मतदातालाई अलग्याए । ‘उनले आफू पछि हटेर पीडितलाई बोल्न दिएका भए चित्र अर्कै हुने थियो’ एकजना कोलम्बियाली टिप्पणीकारले मतदानअघि भनेका थिए ।
सान्तोस र तिमोछेक्को शान्तिका लागि नोबेल पुरस्कारको लाइनमा छन् भन्ने राष्ट्रपतिका समर्थकले लगातार संकेत गर्दा पनि त्यसले काम गर्न सकेन । बरु, मानिसहरूले गुनासो गरे, एउटा गुरिल्ला नेतालाई किन त्यस्तो पुरस्कार दिने ?
अति दक्षिणपन्थी पूर्वराष्ट्रपति एलभारो उरिबले आफ्नो विचारधाराका साथसाथै स्वार्थका कारण ‘हुँदैन’ भन्नेमा जोडदार अभियान चलाए । उरिबको राष्ट्रपतिकालमा सेना र दक्षिणपन्थी मिलिसियाद्वारा व्यापक हत्या तथा जमिन कब्जाका घटना भए, जुन अवधि युद्धकै सबैभन्दा हिंसात्मक हुन पुग्यो । गत वर्षको एउटा सर्वेक्षणले देखाएको छ, कोलम्बियाको आधाजति जमिन केवल ०.४ प्रतिशतले ओगटेका छन् ।
जनमतसंग्रहको केही दिनअघि, उरिबका समर्थकले ‘हुन्न’ भन्ने पक्षमा मत दिनुपर्नाको कारणमा फार्कले आफ्ना उपलब्धि राख्न पाउँछन् भनेका थिए । पहिलो, जसै पूर्वगुरिल्लाहरू राजनीतिमा छिर्नेछन्, कोलम्बिया वामपन्थी अधिनायकत्वमा जानेछ । त्यस्तै शान्ति सम्झौताका प्रावधान लागू गर्न कोलम्बियालीले मूल्य चुक्ता गर्नुपर्नेछ र विगतका अपराधका लागि गुरिल्लाहरू दण्डित हुनेछैनन् ।
मतदातालाई प्रभावित गर्ने अन्य केही व्यक्तित्व जस्तै पूर्वराष्ट्रपति एन्डे«स पास्त्रानाले पनि सम्झौताले फार्कलाई बढी नै दिएको भन्दै हुन्न भन्ने पक्षलाई समर्थन गरे । जनमतसंग्रहपछि फार्कले बन्दुक बिसाइरहने छ वा छैन र कम अनुकूल सर्तहरू स्वीकार गर्नेछ वा छैन भन्ने हेर्न बाँकी नै छ । तर, फार्क नेता तिमोछेन्कोको अवस्था पनि कमजोर भएको छ यो नजिताबाट । सान्तोसको पनि जमिन हल्लिएको छ, उरिबको पार्टीले राजीनामा दिन माग गरिसकेको छ । अन्तिम नजितालगत्तै फार्क नेताले ट्विट गर्दै वार्तालाई निरन्तरता दिने बताइसकेका छन् । तर, विभिन्न तह र तप्काका धेरै फार्क नेता, कार्यकर्ता आफ्ना बन्दुक बोक्दै आधार शिविरतर्फ लागे भने आश्चर्य नमाने हुन्छ । (हिल्टन बेलायतस्थित सञ्चारकर्मी हुन्) द गार्जियनबाट
नयाँ पत्रिका