कार्की निवासमा सूचना नटासी फर्कियो सर्वोच्च टोली
प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तो हात फर्किए ।
काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएको हो । सर्वोच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो ।
घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहबर राख्नुपर्ने कानुनी व्यवस्था छ । राई नभेटिएपछि सर्वोच्च टोली त्यतिकै फर्किएको हो । वडा कार्यालयलाई पहिल्यै खबर गरिए पनि सचिव नआएको सवोच्चका तामेलदार शम्भु खत्रीले बताए ।