पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझाएको छ । नियोगद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज १८ गते नेपालको व्यवस्थापिका–संसद्ले अनुमोदन गरेको कागजात परराष्ट्र मन्त्रालयले नियोगलाई पठाएपछि सो हस्तान्तरण गरिएको हो ।

साथमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले बोनस्थित युएनएफसीसी सचिवालयमा आफ्नो राष्ट्रिय योगदान दर्ता गरेको कागजात पनि प्रस्तुत गरिएको छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदनको कागजातमा परारष्ट्रमन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् । नेपाललगायत अन्य देशले बुधबार प्रस्तुत गरेको कागजातले पेरिस सम्झौता कार्यान्वयन हुन चाहिने हरितगृह ग्यास उत्सर्जनको ५५ प्रतिशत वा ५५ वटा पक्ष राष्ट्र हुनुपर्ने सर्त पूरा भएको छ ।

सम्झौतालाई बुधबार सम्ममा ७२ राष्ट्रले हस्ताक्षर गरेका छन् । अब सो सम्झौता एक महिनापछि अर्थात् नोभेम्बर ४, २०१६ देखि लागू हुनेछ । नेपालले सो सम्झौताको सफल कार्यान्वयनले बाढीपहिरो, हिमताल पग्लने, जलवायुका असामान्य फेरबदल, जैविक विविधता नाश र लाखौँको जीवीकामा परेको असरमा सहयोग पुर्‍याउने आशा पनि राखेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com