प्रदेश १ मा सरकार बन्यो, कर्मचारी भने सम्पर्क विहिन


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

फागुन ५, काठमाडौ । प्रदेश १ मा मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भइसक्दासमेत कर्मचारी सम्पर्क विहिन बनेका छन् । केन्द्रीय सरकारले प्रदेशका विभिन्न मन्त्रालयमा खटाएकामध्ये दर्जनौं कर्मचारी सम्पर्कविहीन रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

केन्द्र सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवसहित २१ कर्मचारी खटाएकोमा हालसम्म १० जना मात्रै आइपुगेका छन् । सचिव सन्तोष श्रेष्ठले अझै ११ जना कर्मचारी आउन बाँकी रहेको बताए । ‘सहसचिव, उपसचिवसहित १० जना कर्मचारी आएका छन् । अरू कर्मचारीको अत्तोेपत्तो छैन,’ उनले भने ।

४१ मध्ये आठ कर्मचारी हाजिर
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अहिलेसम्म आठजना मात्रै कर्मचारी हाजिर भएका छन् । केन्द्रीय सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ४१ कर्मचारी आवश्यक पर्ने जनाएको छ ।

तर, विराटनगरस्थित मन्त्रालयमा तीन उपसचिव, दुई लेखा अधिकृत, दुई सेक्सन अफिसरसहित आठजना मात्रै कर्मचारी आइपुगेको मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीले बताए ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ । जसअन्तर्गत आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका हिक्मत कार्की, अर्थ मामिला तथा योजनामन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबो, सामाजिक विकासमन्त्रीमा एमालेका जीवन घिमिरे र एमालेका जगदीश कुसियत उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री बनेका छन् ।

केन्द्रीय सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २९ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहित कर्मचारी खटाइसकेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com