अनुदान रकम बैंकले उपलब्ध नगराएको भूकम्पपीडितको गुनासो
प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार
पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम बैंकले समयमा नै उपलब्ध नगराएको भूकम्पपीडितले गुनासो गरेका छन् ।
उत्तरगया गाउँपालिकामा रहेको हिमालयन बैँकले लाभग्राहीको चाप बढेको भन्दै दुई सातापछि मात्र रकम दिने जनाएको छ ।
खातामा गइसकेको रकम निकाल्न जाँदा बैंकले नदिएको एक भूकम्पपीडितले बताए उनले भने, ‘खातामा पैसा गइसकेको छ, दिनदिनै जाँदा पनि पाइएको छैन, बैंकले रकम समयमा नै उपलब्ध नगराउँदा हामीले घर निर्माण गर्र्न सकेका छैनौँ ।’
बैंकका शाखा प्रबन्धक रामकाजी थापाले भने रकम उपलब्ध गराउने प्रक्रिया झन्झटिलो भएको र लाभग्राहीको चाप बढेकाले तालिका निकालेर बाँड्न थालेको बताए ।
प्रबन्धक थापाले भने, ‘नियमित कार्यका लागि शाखामा कर्मचारीको अभाव छैन, किस्ता वितरणका लागि छुट्टै कर्मचारीको आवश्यक पर्छ, एउटै कर्मचारीले सबैतिर हेर्नुपर्दा केही ढिलो हुनु स्वाभाविक हो ।’
स्थानीयले भने सरकारले तोकेको समयसीमाभित्रै घर निर्माण सम्पन्न गर्नका लागि बैंकको ढिलाइले समस्या भएको गुनासो गरेका छन् ।
बैंकको समय तालिकाअनुसार लाभग्राहीले अनुदान पाउन लामो समय पर्खनुपर्ने भएको छ । साबिकको गाउँ विकास समितिको वडाअनुसार अनुदान वितरण गर्ने गरी बैंकले तालिका प्रकाशन गरेको छ । तालिकाअनुसार २ फागुनमा लहरेपौवा १ र ३ फागुनमा लहरेपौवाका पीडितले रकम पाएका छन् ।
बाँकी लाभग्राहीलाई तालिकाअनुसार वितरण हुँदा १८ फागुनसम्म लाग्नेछ । उत्तरगया गाउँपालिकामा दुई हजार पाँच सय आठ लाभग्राही छन् ।
तीमध्ये दुई हजार एक सय १३ ले पहिलो किस्ता, एक हजार एक सय ७० ले दोस्रो किस्ता र ६ सय सातजना लाभग्राहीले तेस्रो किस्ताबापतको रकम बुझिसकेका छन् ।