बागलुङ बजारमा बम भेटियो, बजार सुनसान
प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार
बागलुङ बजारको पुरानो बसपार्क बम भेटिएको छ । बागलुङ नगरपालिका—२ पुरानो बसपार्क ट्राफिकचोक नजिकै व्यवसायी उमेश केसीको स्वरुम अगाडि हटकेस बम भेटिएको हो । बिहानै शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम भेटिएपछि स्थानीयमा त्राश फैलिएकाे छ ।
पुरानो बसपार्क स्थीत उमेश केसीको स्वरुम अगाडी राखिएको बम
महेन्द्रा गाडीको स्वरुम रहेको सटरमा ‘बम खतरा’ लेखिएको हटकेसमा विस्फोटक वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शंकास्पद वस्तु सानो बम नै भएको र डिस्पोज गरिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए । ‘शंकास्पद वस्तु भेटिएको थियो, त्यसो सानो खालको बम नै रहेछ,’ उनले भने,‘अहिले हामीले डिस्पोज गरिससेका छौं ।’ बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गएराति पनि धौलागिरी चोकमा बम विस्फोट भएको छ । धौलागिरी चोकको भित्री गल्लीमा गराइएको विस्फोटबाट सयपत्री अफसेट सञ्चालन गरेका श्रीधर कँडेलेको एक तले घरको सिसा फुटेको छ । नजिकैको विस्फोटको आवाजले नजिकैकै अर्को घरको पनि सिसा फुटे पनि अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन । ‘राति ठूलो आजावमा विस्फोट भएको सुनियो, घर नै हल्लिने गरी आवाज आयो, स्थानीय डिल्ली पौडेलले भने–‘बिहान हेर्दा यहाँका झ्यालको सिसा फुटेका रहेछन् ।’
यता प्रहरीले भने रातिको विस्फोट बारे थाहा नभएको जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले मंगलबार आयोजना गरेको नेपाल बन्द अवज्ञा नहोस् भनेर तर्साउन विस्फोट गराइएको हुनसक्ने आशंका गरिएको छ । विस्फोट र बम भेटिएको संशकित भएका बागलुङबासीले बजार पसल खोल्न सकेका छैनन् । बजार सुनसान छ ।