यसरी माओवादीभित्र आफ्नो वर्चश्व बलियो बनाउँदै वादल,पार्टीभित्र हालीमुहाली


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

रामबहादुर थापा वादल तिनै नेता हुन्, जसलाई जनयुद्ध सुरु भएको केही वर्षपछि नै प्रचण्डले ‘लिन प्याओवादी नेता’ को उपमा दिएका थिए । ‘लिन प्याओ’ त्यस्ता चिनिया नेता थिए, जसले अध्यक्ष माओको प्रशंसा गर्दै उनको उत्तराधिकारी बनेर माओवादीलाई सिध्याउने असफल प्रयास गरेका थिए ।

वैद्य समूहमा रहँदा राजनीतिमा असफल बनेका रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्केपछि भने उनले सिंगै पार्टी अघोषितरुपमा कब्जा गर्न सफल बनेका छन् ।

प्रचण्डले एक समयमा ‘लिन प्याओवादी नेता’ को संज्ञा दिएका रामबहादुर थापा वादलले अहिले प्रचण्डको विरोध नगरिकन, उनलाई सुम्सुम्याएरै पार्टीभित्र आफ्नो वर्चश्व बलियो बनाएका छन् ।

माओवादी पार्टीमा आफ्नो बहुमत नभए पनि बादलले कूटिलतापूर्वक प्रचण्डको भन्दा बलियो उपस्थिति जनाइसकेका छन् । प्रदेश सरकारपछि अब केन्द्रमा प्रचण्डको भन्दा बहुमत हासिल गर्ने रणनीतिमा बादल समूह सक्रिय बनेको छ ।

विगतमा मोहन वैद्य र बाबुराम भट्टराई सँगै भएका बेला तीन धार देखिएको माओवादी केन्द्रमा एमालेसँग एकता हुनै लाग्दा वादल समूहले टाउको उठाएको छ ।

यद्यपि प्रचण्ड र वादल समूहवीचको भिन्नता वैचारिक राजनीतिक विषयमा नभएर कसलाई सांसद र मन्त्री बनाउने भन्ने पदीय विषयमा मात्रै केन्द्रित छ ।

वादल समूहले पार्टीभित्र हालीमुहाली गरेको भन्दै माओवादी केन्द्रका एक नेताले यस्तो गुनासो गरे ‘बादलहरुले पार्टी फुटाएका बेला हामीले प्रचण्डलाई साथ दियौं, तर अहिले तिनै पार्टी फुटाउनेहरु देशैभरिबाट पुरस्कृत भइरहेका छन् । उनै, सांसद, उनै मन्त्री, उनै पोलिटब्यूरो बनेका छन् । हामीचाँहि पार्टी नफुटाए वापत दण्डित भयौं ।’

प्रचण्डको चर्को विरोध गर्दै विगतमा वादल मोहन वैद्यसमूहतिर लागेका थिए, जसले गर्दा माओवादी पार्टी पहिलो शक्तिबाट तेस्रोमा खुम्चियो । तर, पार्टीलाई रसातलमा पुर्‍याउने उनै नेताले अहिले प्रचण्डको उदारताबाट फाइदा उठाउँदै सिंगै पार्टीलाई आफ्नो मुठ्ठीमा राखिरहेको प्रचण्ड पक्षका नेताहरुको गुनासो छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com