नेपाल प्रहरीले काठमाडौ उपत्यकालाई अपराधमुक्त बनाउने


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

नेपाल प्रहरीले केही महिनाभित्रै काठमाडौ उपत्यकालाई अपराधमुक्त बनाउने लक्ष्य अघि सारेको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले आइतबार पत्रकार सम्मेलनगरी राजधानीमा बढ्दो अपराध नियन्त्रणका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताए ।

परिसर प्रमुख पोखरेलले प्रहरी प्रशासनमा देखिएको कमीकमजोरीलाई हटाई सुरक्षा नीतिलाई चुस्त र दुरुस्त बनाउने जानकारी दिए । यसका लागि जनतासँग सार्वजनिक सुनुवाई अभियान शुरु गरिएको उनको भनाइ छ ।

पोखरेलले काठमाडौंमा मात्रै ३ सय ७२ जना फरार अपराधीको सूची रहेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याईने बताए ।

हालसम्म गम्भीर प्रकृतीका ४२ अपराधी पक्राउ परिसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । अपराध नियन्त्रणका लागि टोलटोलका युवाहरुसँग समन्वय भइरहेको परिसर प्रमुख पोखरेलको भनाइ छ ।

होली पर्वका लागि विशेष सुरक्षाको ब्यवस्था मिलाइएको जनाउँदै उनले इच्छाविपरीत जथाभावी लोला र अबिर दल्नेलाई कडा कारबाही गर्ने जानकारी पनि दिए ।

यस बर्षको होली पर्वका लागि १५ सय प्रहरी परिचालन गरिने भएको छ । होलीको दिन २० वटा मोबाइल टोली खटिने छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com