घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख घुस लिँदालिँदै पक्राउ


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै बुधबार साँझ पक्राउ गरेको छ ।

प्रमुख कर्ण लहानस्थित ग्रामीण चोकमा रहेको सरकारी निवासबाट घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए ।

उनका अनुसार कर्णले मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानaका एक कर्मचारीबाट घुस लिएका हुन् ।

होरेन्डेकलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिशन माग्दै आएका थिए ।’

कुल बजेटको १० प्रतिशत कमिशन मागिएको उनको भनाइ छ ।

कर्णले आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मैले रकम मागेकै थिइनँ ।

जर्बजस्ती रकम दिएर गएपछि अख्तियारको टोली आएर समात्यो।’ ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com