वैशाखदेखि राजस्व संकलन र भुक्तानीमा ई–पेमेन्ट लागू
प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार
निरु अर्याल। सरकारले अगामी वैशाख १ गतेदेखि राजस्व संकलन र भुक्तानीको काम विद्युतीय माध्यमबाट गर्ने भएको छ । छैठौ करदाता दिवसका अवसरमा घोषणा गरिएको सरकारको महत्वाकांक्षी योजना वैशाखदेखि कार्यान्वयनमा आउने भएको हो । विद्युतीय बिल भुक्तानी प्रणाली ई–पेमेन्ट सिस्टम कार्यान्वयनमा आएलगत्तै कार्यालयमा आएर राजस्व तिर्न पर्ने अवस्थाको अन्त्य हुने छ भने सेवाग्राहीले घरबाटै सबै किसिमका कर तिर्न सक्नेछन् ।
हाल सेवाग्राहीहरु सरकारी भुक्तानी लिन सरकारी कार्यालय पुग्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्था आगामी वैशाखदेखि लागू गर्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पद बहालीलगत्तै उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । सरकारबाट गरिने भुक्तानी र राजस्व संकलन विद्युतीय प्रणालीबाट हुने निर्णयमा हस्ताक्षर गरेपछि यो निर्याय छिट्टै कार्यान्वयनमा आउने बताइएको छ । अर्थमन्त्रीको यो निर्णयले समग्र राजस्व प्रणालीमा सुधार आउने आंकलन गरिएको छ ।
“वैशाखदेखि सरकारलाई राजश्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रूपमा बैंकमा उपस्थित हुनु पर्दैन,” मन्त्रालयका प्रवत्ता तथा सहसचिव अर्जुनप्रसाद पोखरेलले भने, “यो व्यवस्था लागू भएपछि समग्र राजस्व प्रणालीमा सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।” उनले मन्त्रीस्तरीय निर्णय भएकाले वैशाख १ गतेदेखि नै लागू हुने जानकारी दिए।
यसअघि पनि अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले विद्युतीय भुक्तानीलाई छिट्टै कार्यान्वयनमा ल्याउने बताएको थियो । ई–पेमेन्टलाई यथाशक्य छिटो कार्यान्वयनमा ल्याउने भनिए पनि कहिलेदेखि कार्यान्वयनमा ल्याउने भन्ने यकिन भने भएको थिएन । अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था लागू भएपछि करदाताले आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सिधै सरकारलाई राजस्व भुक्तानी गर्न सक्ने छन् । यस्तै सरकारी कार्यालयबाट भुक्तानी लिन बैंकको खाता नम्बर दिएपछि सम्बन्धित कार्यालयबाट सिधै भुक्तानी आदेश भई सम्बन्धित कार्यालयको खातामा रकम जम्मा हुने छ । यो व्यवस्था लागू भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ । “अब चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन,” उनले भने, “आफ्नो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ ।”
विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेसिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत व्यवस्था गरेको छ ।
सम्बन्धित बैंकको खाता नम्बरबाट आफूलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ । यो निर्णयले अहिले देखिएको अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन पनि सहज हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । हाल हाल बैंकिङ कारोबार ई–पेमेन्ट जस्ता बाध्यकारी प्रावधान लागू हुन नसक्दा ढुकुटी, हुन्डी, सापटी, मिटरब्याजी जस्ता अनौपचारिक कारोबारबाट हुने वित्तीय अपराध नियन्त्रण प्रमुख चुनौतीका रूपमा देखा परेको छ ।