चिया पसलमा ८ मार्च
प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार
आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । एका बिहानै चिया पसलमा केही भद्र भलाद्मी र पढेलेखेका जस्ता देखिने व्यक्तिहरु दुध चियाको सुर्काे लाउँदै छन् साथमा चुरोटको धुँवाले चियापसल कुईरीमण्डल पारिरहेका छन् । चियाको एक सुर्पा तान्दै अर्को पटक चुरोट तानिरहेका छन् र भन्दैछन् – ‘आज महिला दिवस भन्छन्, खै यी महिलाहरुलाई पनि कत्ति अधिकार चाहिएको हो ?? देशमा राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश समेत भईसके अझै पनि अधिकार पाएनौँ भन्दै रोइलो गर्न छोड्दैनन् के भाको हो खै कुरै बुझ्न सकिएन !’
‘संबिधान र कानुनमा त अधिकार सब्बै महिलाको मात्र छ, अदालतमा मुद्धा परेपनि पुरुषको कुरा सुनिदैन, खाली महिलाले जे भन्यो त्यसै कुरालाई पत्याउँछ अदालतले पनि । पोहोर साल सालोकी श्रीमतिले मलाई बिबाह गर्ने बेलामा तिमिले चाहेको स्टाफ नर्स पढाउँछु भनेर बिबाह गरे, पछि आईमाई मान्छेले किन पढ्नु पर्यो अब घरबार सम्हाल्ने बच्चा बच्ची जन्माउने, घरबार सम्हाल्ने गर, होईन भने जहाँबाट आएकीहोस् त्यहिँ जा, मलाई तेरो खाँचो छैन, खुट्टा भए जुत्ता कत्ति कत्ति ! तँ जस्ता दश वटी ल्याउन सक्छु भन्दै लोग्नेले कुट्यो, लोग्नेले रक्सिको मातमा सधैँ शारिररीक तथा मानशिक यातना दियो, लोग्ने संग सहेर बस्न सक्ने स्थिति रहेन, अंश दिलाई सम्बन्ध बिच्छेद गरीपाउँ भन्दै अदालतमा मुद्दा हालेकी रहिछ, अदालतले सबै आईमाईका कुरा सुन्दो रहेछ । बिचरा सालोले सबै गुमायो । स्वास्नी त अर्कि ल्याईहाल्छ आधा सम्पत्ति लगी गाँठे । अब कहिले काहिँ लोग्ने मानिस भएपछि यसो बाहिर तिर साथीभाई सित बस्यो दुई चार प्याक लिँदा ढिलो भईहाल्छ घरमा जाँदा स्वास्नी चाँहि मैले क्याक्कनै बिगारेजस्तो फुल्लीएर बस्ने, नरिसाउ न भनेर मीठो बोल्दा बोल्दै कत्ति सधैँ जाँड धोकेर आउँछौ जडेया भन्दै मुख लागे पछि दुई चार झापु लाउनु कत्ति ठूलो कुरो भयो र ? आफ्नो लोग्नेले स्वास्नी तह लाउन दुई चार थप्पड हानेकोमा ? कहिलेकाही मै पनि लाउँछु ।’
अर्कोले थप्यो – ‘के कुरा गर्नु यार । सप्पै हामी लोग्ने मानिस पीडित भईसक्यौँ, अब हाम्रो पीडा कसले बुझ्छ, हामी आईमाई हरुको लागि त कमाईरहेका छौँ उनीहरुकै लागि त रात दिन खटिरहेका छौँ । बहिनी, आमा, श्रीमति सबैको लागि हामी गरिरहेका छौँ । मेरो पनि बहिनीलाई पाल्न सक्ने गतिलो केटो खोजेर ब्या गर्दिन लागेको म पढ्छु भनेर ब्या भाँडि, अब पढेर के के नेपरपाटो लाउने हो । मैले एक रुप्या पनि दिन्न भनेको मैले आफै पढेर देखाउँछु भन्दै हिडिकी छ । जहाँ जे जे गरोस अब मलाई उसको मतलब छैन । खुरुक्क भनेको मान्न पर्दैन, आईमाई मान्छेले पढेर के भा छ, पैसा कमाएर पाल्ने आखिरी लोग्ने मान्छेले हो, उनीहरु खाली घरमा बस्छन्, बस काम काज छैन, चाहिने नचाहिने कुरा गर्छन्, अनि बेकारको आदर्शका कुरा गर्छन् । आफु आईमाई हुँ भन्ने कुरा बुझ्नु नी ।’
तेस्रोले थप्यो – ‘पोथी बासेको ठीक हुन्न के वास्तबमा । आईमाई भएर लोग्ने मान्छेले गरेको कुरामा त्यत्तिकै जन्ने भएर हस्तक्षेप गर्न खोज्छन्, मलाई पटक्कै मन पर्दैन । हाम्रो घरमा पनि त्यस्तै छ भन्या अस्ती भर्खर गैरी खेत बेचेर यसो यतै शहरमा एउटा घडेरी किन्न प¥यो भनेर भाईको मेरो र बुवाको सल्लाह भयो । खेतको राम्रै मुल्य पाईयो, यति राम्रो मुल्य फेरि नपाईएला भनेर हतार हतार बुवा, म र भाई मालपोतमा गएर पास गरियो, साझ घर आएको त आमाले मलाई नसोधि किन बेच्यौ ? मेरो पनि त यो घरमा अधिकार छ भनेर हल्ला गरेर जात्रा भयो । दोस्रो खिल्ली चुरोटको ठुटो निभाउँदै दोस्रो कप दुध चियाको गिलास को अन्तिम सुर्पा चिया तानेर टेवलमा गिलास राख्दै भन्दै थियो, आमालाई किन चाहियो के यस्ता व्यबहारका कुरा हामी लोग्ने मान्छेले सोच बिचार पु¥याएर गरेको निर्णयमा आमालाई जान्ने हुन कस्ले भन्यो के ? आमाको काम खुरुक्क लाएर घरमा पकाउने खाने हो, घरमा पकाएर बसे हुनेलाई त्यत्रो व्यबहारको कुरा किन गर्नु परेको होला बेकार ।’
यतिन्जेल सम्म ति लोग्ने मानिसहरुको पुरुषत्व नारी दिवसमा उनीहरुले फुकिरहेको चुरोटको धुँवाको गन्द लिदै दुई दुई कप चिया पकाएर दिदै १०८ औँ नारी दिवस मैले पनि मनाएकै थिएँ । किनकी म चिया पसले हुँ त्यत्रा मान्छे त्यसैमा पनि मेरो पसलमा आउने ग्राहक मैले प्रतिबाद गर्ने कुरा थिएन, तबै त केही नबोली उनीहरुलाई चिया र चुरोट दिईरहेकी थिएँ । तर जब उनीहरुले आमालाई समेत छोडेनन् तब अब म नबोली मेरो स्वाभिमानले कदापी धरै दिएन ।
त्यसपछि मेरो पालो आयो अब बोल्ने । मैले भनेँ -‘आजको नारी दिवसमा मैले तपाईहरुबाट धेरै कुरा सिक्ने मौका पाएँ । आजको चियाको मैले पैसा लिन्न । हजूरहरुले आफ्ना घरका नित्तान्त व्यक्तिगत कुरा मलाई पनि सुन्ने मौका दिनुभयो म मेरा कुरा पनि बताउन मन लाग्यो । थाह छ मलाई यत्तिन्जेल गरेका कुरामा सबैभन्दा नराम्रो लागेको कुरा के हो भने आमाले मेरो पनि अधिकार छ यो घरमा भन्दा के नराम्रो कुरा भयो र आमाले बोलेको कुरा त कानूनत जायज कुरा हो यो व्यबहारिक कुरा पनि त हो । के आमा आईमाई भएकै कारणले उहाँले बोलेको कुरा हल्ला र जात्रा हुन्छ ? के आमा लोग्ने र छोराहरुले मनोमान सहनु पर्ने बाध्यता छ ? के आमाको कुनै अधिकारै हुदैन ? कहाँ लेख्या छ आमाले कुचाई, मिचाई सहनु पर्छ भन्ने ?? के गैरीखेत बेचेर पास समेत भईसक्दा आमाले थाह सम्म पाउने अधिकार राख्नुहुन्न ?? के आमा परिवारका सबै सदस्यलाई पकाएर खुवाउने कुक हुनु बाहेक अन्य कुनै अस्थित्व छैन ?? माफ गर्नुहोला मलाई यो कुराले निकै पिरोल्यो ।’
‘अर्को कुरा के संबिधान र कानुनमा लेखिदैमा महिला अधिकार छ भन्न सकिन्छ ? के श्रीमतिलाई उसको हैसियत अनुसार सक्षम हुने मौका दिनु पर्दैन । के आईमाई मान्छेले घरबार सम्हाल्ने बच्चा बच्ची जन्माउने साधन मात्र हो ? के लोग्नेको रक्सिको गन्द सुघ्दै सधैँ दुई चार झापु खादै सहेर बस्नु पर्ने हो ? बाहिर तिर साथीभाई सित दुई चार प्याक लगाएर घरमा आई दुई चार झापु लाउने लोग्नेलाई पूजा गर्नु पर्ने हो ?’
‘अझै के बहिनीलाई अरुले नै पाल्न पर्ने बनाईराख्ने हो ? के बहिनी( आईमाई) ¬ले पढ्नै नहुने हो ? के पढेर के आईमाई मान्छेले पढेर केही भा छैन ?, के लोग्ने मान्छेबाट मात्र आईमाई पालिनु पर्ने हो ? के महिलाले पढ्नु बेकारको आदर्शको कुरा हो ? तपाईहरुका यी र यस्ता कुराले तपाईको घरमा रहेका आमा, दिदी, बहिनी, श्रीमति, छोरी बुहारीहरु कति पीडित भएका छन भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । तपाईहरु यो समाजको पित्रिसत्तात्मक सोचबाट ग्रसित मानसिकतामा बाँचिरहनु भएको छ । यतिन्जेल कहि कतै आमा, दिदी, बहिनी, श्रीमति, छोरी बुहारीहरुको योगदान सम्झिनु भयो ? के उनीहरुको योगदान तपाईको जिवनमा शुन्य हुन्छ ? तपाईँलाई एक मान्छे त भन्दिन, व्यक्ति बनाउन कस कसको योगदान छ छातिमा हात राखेर भन्न सक्नुहुन्छ ? पहिले सोच बदल्नुस त्यो आफैबाट, व्यबहार बदल्नुस आफ्नै घर बाट, तब बल्ल समाज बदलिन्छ हजूर ।’
यत्तिकैमा मेरो कुरामा समर्थन जनाउँदै चौथोले भन्यो – ‘वास्तबमा बहिनीको कुरा ठीक हो यार । हो त ! म बहिनीले भनेको कुरामा सहमत छु, वास्तबमा महिलाको सहन क्षमता हामी पुरुषको भन्दा धेरै गुणा बढी हुन्छ, हामीले त्यसको गलत फाईदा उठाएका हुन्छौँ । खास भन्ने हो भने त यसरी हामीले चिया गफमा जे जे कुरा गरेको भएपनि घरमा जाँदा आमा, दिदि, बहिनी, भाउजु या श्रीमतिले खाना बनाउँदै होलान् अहिले उनैले नपकाइ खानु छैन यता यत्रा कुरा ।’
त्यो कुरा सुनेपछि अन्य तीन जना नबोली उठेर घरमा गए सायद खाना खाने बेला भएकोले होला । तर उनी भने त्यहिँ एकछिन अडिए । उनले भने – ‘बैनी मलाई तपाईको कुरामा दम छ जस्तो लाग्यो, तपाईको कुरामा बिमति देखाउनु पर्ने कुनै कारण देखिन । बैनी एउटा कुरा भनुँ तपाई कतै कुनै पीडाबाट गुज्रिएको हुनु पर्छ मेरो अनुमानमा । मान्छेले कि त पढ्नु पर्छ कि त पर्नु पर्छ भन्छन !’
‘मलाई अरु धेरै कुरा गर्न त मेरो स्वाभिमानले पनि दिदैन दाजु, बस यत्ति हो म पनि पढ्नु पर्छ केही गर्नु पर्छ भन्ने अठोट गरेको मान्छे हुँ । म यहाँ चिया पसल चलाएर पढ्दै पनि छु । जिवनमा संघर्ष गर्न मलाई मेरो अठोटले सिकाएको हो । यो समाज परिबर्तनको संघारमा भएकोले पनि होला हामी जस्तो अधिकार बुझेको महिला र कर्तव्य नबुझेको समाज बिच टकराव भईरहन्छ । यसै टकराबको थिचो मिचोमा हामी पर्ने त हो । वास्तबमा घरमा हजूरआमा, आमा हरुले नै हामीलाई बुवा, दाजु, भाई लगाएतको आबश्यकता बमोजिम काम गर्न सिकाउनुभएको छ । किनकी आमाहरुको जीनमा पनि पितृसत्ताको सोच आमा जन्मिदै देखि नै बोकेर आउनुभएको छ । अनि कसरी हुन्छ र क्षणभरमा परिबर्तन ? आमाहरुलाई सम्झाई बुझाई ग¥यो एकै छिन ठीक हो भन्नुहुन्छ । फेरि एकछिनमै लौन छोरी खाजा बनाउ, पछि पढौली, भाई खेलेर आउने बेला भयो, अहिले आएर झगडा गर्छ फेरि भन्दै डराउन दिनुहुन्छ । के भयो त अन्त्यमा त्यहि । छोरीलाई आफ्नो काम सकेर खुरुक्क घर आउनु पर्ने नियम हुन्छ, भाई किन राति अवेर सम्म घर आएन भनी सोध्दा उ त छोरो मान्छे हो भन्ने उत्तर दिनुहुन्छ । यी र यस्तै कुराहरुमा आमाहरुले पनि नजानिँदो ढंगले पितृसत्तलाई अंगेल्नु भएको छ । बास्तबमा महिलाहरु मातृसत्ता चाहेका होईनन् बस् समाजमा पितृसत्ता हुनुहुदैन, सबैले समानता र न्ययको अनुभुति गर्न पाउनुपर्छ भन्ने कुरा मुख्य हो । यसका धेरै आयाम हरु पनि छन् जो आजै कुरा गरेर साध्य छैन, पछि बिस्तार लगाउँला मेरो परीक्षा नजिकिएको छ पढ्नु पनि पर्ने छ ।’ मैले भनें । त्यसपछि उनीपनि बाटो लागे ।
कभर तस्वीर एआईबाट बनाइएको हो ।