सामुहिक बलात्कार घटनाका मुख्य आरोपी पक्राउ
प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा युवतीलाई सामूहिक बलात्कार गर्ने एक युवकलाई २ महिनापछि पक्राउ गरिएको छ । फरार रहेका शैलेश कार्कीलाई मंगलबार प्रहरीले दरबारमार्गबाटै पक्राउ गरेको हो । गत माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले किशोरीमाथि सामुहिक बलात्कार गरेका थिए । पक्राउ परेका कार्की पीडित युवतीका प्रेमी हुन् । प्रेमिकालाई मदिरा पिलाएर उनले बलात्कार गर्न लगाएका थिए । घटनामा संलग्न विकास गौतम, दीपक श्रेष्ठ र रबि पौडेल फरार छन् ।
घटनापछि दरबारमार्ग प्रहरीले मिलापत्र गराएको थियो । घटनामा संलग्न प्रहरीहरु समेत कारबाहीमा परिसकेका छन् । घटनामा फरार रहेका अन्य अभियुक्तहरुको खोजी भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका चार जना साथीले सामूहिक बलात्कार गरेका थिए । उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए ।
युवतीले भने ट्याक्सीका चालकलाई आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन आग्रह गरेकी थिइन् । ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पु¥याइदिएका थिए । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पु¥याएका थिए ।
घटना भएलगतै प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको थियो । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपी रामदक्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । समितिले बलात्कारको घटना मिलापत्र गरेर लुकाउन प्रहरीले मुख्य भूमिका खेलेको समेत पुष्टि गरेको थियो ।
छानविन समितिले बुझाएको प्रतिवेदनमा युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको उल्लेख गरिएको थियो । सामुहिक बलात्कारको घटनामा पक्राउ परेका शैलेश कार्कीसहित विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखाएको थियो । छानबिनका क्रममा पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर मिलापत्र गरेको समेत देखिएको थियो । छानविन समितिले बलात्कारको घटनामा मिलापत्र गराउन दरबारमार्ग प्रहरी बृत्तले भूमिका खेलेको ठहर गरेको गर्दै प्रहरी नायव उपरीक्षक तिलक भारतीलाई दरबारमार्ग वृत्त प्रमुखबाट हटाउने र प्रहरी निरीक्षक लक्षण सिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी हैदसम्मको कारबाही गर्न सिफारिस थियो ।